काठमाडौँ, जेठ ६ गते । गर्मी बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले गर्मी बढेसँगै अस्पतालको बहिरंग सेवा (ओपिडी) लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा चैत अन्तिम हप्तादेखि ओपिडीमा आउने बिरामी र अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढ्दो छ ।
उहाँ भन्नुभयो, “चैत महिनाको अन्तिमदेखि ओपिडीमा आउने बिरामीको सङ्ख्या बढ्दो छ । यो भन्दा पहिले पाँच छ÷सय बिरामीले ओपिडी सेवा दिने गरेकोमा यो सङ्ख्या बढेर एक हजार देखि १२ सय पुगेको छ ।”
ज्वरो, निमोनिया, रुघाखोकी, झाडा बान्ता हुने, पेट दुख्ने, सर्पले टोकेर बिरामी अस्पतालको ओपिडीमा आउने गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी, अस्पतालको इमर्जेसीमा ज्वरो, झाडापखाला, रुघाखोकीलगायतको समस्या लिएर बिरामी आउने गर्छन् ।
उहाँका अनुसार चैतदेखि वैशाख महिनामा सात जना डेंगुका विरामी अस्पतालमा भर्ना भएर उपचार गराएका छन् ।
त्यस्तै दुई हप्तादेखि दैनिक पाँच/छ जना सर्पदंशका बिरामी अस्पतालमा पुग्ने गर्छ । ज्वरो आएर, रुघा खोकी लागेक दैनिक १०/१२ जना विरामी आउने उहाँको भनाइ छ । कालाजार, रेविजविरुद्धको खोप लगाउन बिरामी पनि अस्पतालमा पुग्ने गर्छन् । अस्पतालमा फुड प्वाइजनको कारणले झाडा पखाला, वान्ताको समस्या लिएर आउने विरामीको सङ्ख्या पनि बढ्दो छ ।
उहाँका अनुसार अस्पतालमा भर्ना हुने विरामीको सङ्ख्या बढ्दो छ । अस्पतालमा निमोनिया टाइफाइड, दम, ज्वरो, कालाजार, मलेरिया, रेबिज, टिटनास, सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् ।
गर्मी मौसममा गर्मीजन्य रोगबाट बच्न सरसफाइमा ध्यान दिन सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनको आग्रह छ ।
गर्मी बढेसँगै ज्वरो आउने, सर्पले टोकेर, निमोनिया, झाडा बान्तालगायतका बिरामी बढ्दै गएकाले खानपान र सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
गर्मीजन्य रोगबाट बच्न जथाभावी खानपान नगर्ने, काम नपरी घर बाहिर नहिँड्न र यदि हिँड्नै परेमा छाता वा शरीर पुरैछोप्ने गरी कपडा लगाएर हिड्न, सडेगलेका खाना नखाने, पानी उमाले वा निर्मलीकरण गरेरमात्र पिउन डा.पुनको सुझाव छ ।