• ८ जेठ २०८२, बिहिबार

ताँजाकोटमा औंलो र कालाजारका बिरामी भेटिए

blog

मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) जेठ ६ गते ।
हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औंलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औंलो र कालाजारका बिरामीहरूको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुई जना औंलोका र एक जना कालाजारका बिरामीहरू भेटिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका किटजन्य रोग फोकल प्रसन रबिन्द्र देवकोटाले बताउनुभयो ।

औंलोका दुई जनामध्ये २ नम्बर वडाका एक जना बाहिर बाटै सरेर आएका (आयातित) र वडा नम्बर ५ का एक जनाको त्यही लामखुट्टेले टोक्दा रोग देखा परेको बताउनुभएको छ भने सोही गाउँपालिकामा वडा नम्बर २ मा एक जना कालाजारका बिरामी भेटिएको बताउनुभयो ।

केहि दिन अघिको परीक्षणमा औंलो र कालाजारका तीन जना बिरामी भेटिएपछि गाउँपालिकामा सोमबार बैठकले जेठ ७ गते बुधबारदेखि ताँजकोट गाउँपालिका वडा नम्बर २, ३ र ४ का पुरै टोल बस्ती तथा वडा नम्बर ५ को सात्ती डोप्का क्षेत्रमा औंलो तथा कालाजार रोग नियन्त्रणका लागि विषादी छर्ने निर्णय गरेको छ ।

गत वर्ष पनि यो गाउँपलिकामा औंलो र कालाजारका बिरामीहरू भेटिएका थिए । जिल्लाको तल्लो क्षेत्र अत्याधिक गर्मी हुने भएका कारण औंलो र कालाजारका रोगहरू फैलिरहेको हुन्छ । विगतका दिनहरूमा औंलो रोगकै कारण सयौंको ज्यान जाने गर्दथ्यो । पछिल्लो समय यसको नियन्त्रण भइसकेको अवस्थामा ताँजकोटमा नियन्त्रण हुन नसकेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । 

यस वर्ष कर्णाली प्रदेशको अन्य जिल्लाहरूमा आयातित रोग देखिएको भए पनि हुम्लाको ताँजाकोटमा मात्रै स्थानीय स्तरमै देखा परेको यो रोग ताँजाकोटमा मात्रै भेटिएको स्वास्थ्य सेवा कार्यालयबाट खटिएका किटजन्य रोग फोकल प्रसन देवकोटाले बताउनुभयो । यसको नियन्त्रणका लागि पहिले लामखुट्टे र डेङ्गु नियन्त्रण गर्नुपर्ने भएकाले सचेतना फैलाउनुपर्ने बताउनुभयो ।