• ४ साउन २०८१, शुक्रबार

जिसस गठनको प्रक्रिया सुरु

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ २८ गते । सर्लाहीमा जिल्ला समन्वय समितिको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन कार्यक्रमको सूचना निकालेको हो । 

निर्वाचन कार्यक्रमअनुसार असार २ गते पहिलो दिन मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउने वा छुट भए समावेश गर्ने, मतदाताको विरोधमा उजुरी दिनेलगायतका कार्यक्रमहरू हुनेछन् । 

असार ३ गते उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्रको जाँच र उजुरी परेको भए त्यसउपर जाँच गर्नेलगायतका कार्यक्रम छन् । असार ४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

असार ५ गते मुख्य दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जिल्ला समन्वय समितिकै प्राङ्गणमा मतदान हुने मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिनुभयो । उहाँले निर्वाचनको तयारी तीव्र रूपमा अघि बढेको बताउनुभयो । 

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखहरू मतदाता हुनेछन् । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित नौजना सदस्य चयन हुनेछन् । सर्लाहीमा २० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी ४० जना मतदाता छन् । जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेस एक्लैलाई पर्याप्त बहुमत छ । 

१२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको कांग्रेससँग २३ मत छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग भने १७ मत मात्रै छ ।