• २६ जेठ २०८२, सोमबार

चार सय विद्यार्थीको आँखा परीक्षण

blog

सोमबार नारायणी माध्यमिक विद्यालयमा आयोजित विद्यार्थी आँखा परीक्षण कार्यक्रम ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ६ गते। ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो।

मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार सोमबार नारायणी माविमा अध्ययनरत १५५ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ।उक्त सङ्ख्यामध्ये ९५ जना छात्रा र ६० जना छात्र छन्।आँखा परीक्षणका क्रममा समस्या देखिएका नौ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

जिल्लास्थित नेपाल नेत्र ज्योति सङ्घ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको समन्वय र गाउँपालिकाको आर्थिक व्यवस्थापनमा विद्यालयमै पुगेर विद्यार्थीको आँखा परीक्षण गरिएको हो।

पालिकाका सबै विद्यालयमा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गरिने गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो।डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका काजी थेबेसहित प्राविधिक जनशक्तिको संलग्नतामा विद्यार्थीको आँखा परीक्षण गरिएको हो ।

आइतबार सिँवा माविमा अध्ययनरत करिब २५० विद्यार्थीको आँखा परीक्षण गरिएको छ। पाथीभरा बहुमुखी क्याम्पसको सामुदायिक पहुँच कार्यक्रमअन्तर्गत विद्यालयमा शिविर आयोजना गरी विद्यार्थीको आँखा परीक्षण गरिएको हो।विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार करिब २५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ।विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र उपलब्ध अभिभावक समेतको आँखा परीक्षण गरिएको गौतमले जानकारी दिनुभयो।

निःशुल्क आँखा परीक्षण तथा सामूहिक मनोसामाजिक मनोविमर्श कार्यक्रम आयोजना गरी सेवा प्रवाह गरिएको पाथीभरा क्याम्पस सञ्चालन समिति अध्यक्ष शिला इजमले जानकारी दिनुभयो।अध्यक्ष इजमका अनुसार नेपाल नेत्र ज्योति सङ्घ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

 सिँवामा पनि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रकै क्षेत्र कार्यकर्ता थेबे लगायतका प्राविधिक जनशक्तिले आँखा परीक्षण सेवा प्रदान गर्नुभएको थियो।

यता आँखा परीक्षण सेवासँगै मनोसामाजिक विमर्शसमेत गरिएको पाथीभरा बहुमुखी क्याम्पसले जनाएको छ।मनोसामाजिक विमर्श कार्यक्रममा मनोविमर्श प्रशिक्षक राजेन्द्र काफ्लेले सहजीकरण गर्नुभएको बताइएको छ।सदरमुकाम फुङ्लिङमा रहेको पाथीभरा बहुमुखी क्याम्पस जिल्लाको एकमात्र स्नातकोत्तर तहसम्म अध्ययन हुने क्याम्पस हो ।