• ८ जेठ २०८१, मङ्गलबार

जनावरको आक्रमण वृद्धि : दुई वर्षमा सैँतीस जनाको मृत्यु

blog

चितवन समाचारदाता

चितवन, जेठ २८ गते ।चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको मृत्यु भएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यो अवधिमा सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको हो । पछिल्लो तीन महिनायता मात्रै बाघको आक्रमणबाट नौ जनाको मृत्यु भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जेठ महिनामा मात्र चार जनाको मृत्यु भएको हो । वैशाख र चैतको तथ्याङ्क हेर्दा दुई महिनामा पाँच जनाको बाघको आक्रमणबाट मृत्यु भएको देखिन्छ । करिब तीन महिनामा मात्रै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघ र गैँडाको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो अवधिमा नौ जनाको बाघको आक्रमणबाट र एक जनाको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मङ्गलबार अपराह्न भरतपुर महानगरपालिका–२३ मा पर्ने घैलाघारी सामुदायिक वनमा निगुरो टिप्न गएका चार जनामध्ये घैलाघारी बस्ने ५५ वर्षकी मङ्गली बोटेको बाघको आक्रमणबाट मृत्यु भयो । त्यसैगरी जेठ ८ गते भरतपुर महानगरपालिका–१३ स्थित बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न र निगुरो खोज्न गएकी फूलकुमारी बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । ५२ वर्षीया बोटेलाई बाघले आक्रमण गरेर घिसार्दै करिब सात सय मिटर पर पु-याएको थियो । जेठ १६ गते राप्ती नगरपालिका–१ की ५३ वर्षीया सेतीमाया तामाङ घरनजिकै पर्ने राप्ती नदीको किनारमा निकुञ्जको क्षेत्रभित्र गाई चराउन जानुभएकोमा अपराह्न ४ बजेतिर बाघको आक्रमणमा परेर घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै जेठ १७ गते नवजागृति सामुदायिक वनमा निगुरो र च्याउ खोज्न गएका बसेनी बरमटोलका ५१ वर्षका चाथर कुमालको बाघको आक्रमणबाट मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जाँदा मान्छे मार्ने क्रम बढेको छ । निकुञ्जको तथ्याङ्कअनुसार २०७६ सालमा बाघको आक्रमणबाट मान्छेको मृत्यु नभए पनि त्यसपछि बाघको आक्रमण निरन्तर बढ्दै गएको छ ।

एउटा बाघलाई हिँड्डुल गर्न झन्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको सङ्ख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानव बस्ती वरपरसम्म पुग्ने गरेको विज्ञहरूको भनाइ छ । मृत्यु भएको अवस्था हेर्दा निकुञ्ज सुरक्षामा खटिएका, घाँसदाउरा गर्न र निगुरो टिप्न जाँदा, पूजा गर्न जाँदा र पर्व मनाएर घर फर्कंदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी मृत्यु भएको देखिन्छ । 

शुक्रबार मात्रै पूर्वी चितवनको राप्ती नगरपालिका–१, डिपार्टगाउँमा आफ्नै खेतमा तरकारी टिप्न जाँदा बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरी ४३ वर्षीय इन्द्रबहादुर वाइबा गम्भीर घाइते बनाएको छ । घाइते वाइबाको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस्तीमा प्रवेश गरेको बाघलाई निकुञ्जको टोलीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको छ ।  

बाघको सङ्ख्या वृद्धि भएका कारण मानिसलाई आक्रमण गर्न थालेको संरक्षणकर्मीले बताएका छन् । आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बाघको सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रलाई बासस्थान बनाएकाले आक्रमणको घटना बढेको बताउनुहुन्छ । मानिसले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।

बाघका सम्बन्धमा विद्यावारिधि गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने बाघले बूढो भएर, घाइते भएर, हेपिएर र आहारा नपाउँदा मानिसलाई आक्रमण गर्ने गरेको बताउनुहुन्छ ।