• ९ जेठ २०८१, बुधबार

विद्यालय बन्द गरेर यार्सा टिप्न पाटनतिर

blog

बन्द अवस्थामा रहेको मैकोटको पुथा हिमालय मावि–१ ।तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपूर्व, जेठ २८ गते  । रुकुमपूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । 

विद्यार्थी नै यार्सा सङ्कलनका लागि बुकीपाटन हिँडेपछि विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । उहाँले विद्यार्थी नै नआउने भएपछि शिक्षक पनि यार्सा सङ्कलनमा जाने गरेको बताउनुभयो । 

पुथाउत्तरगङ्गा गाउँपालिका–१ मा रहेको पुथा हिमालय माध्यमिक विद्यालय मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले यार्सा सङ्कलनको सिजन सुरु भएसँगै जेठको ७ गतेबाट विद्यालय बन्द भएको बताउनुभयो ।

यस क्षेत्रमा यार्साको सिजन सुरु हुनेबित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिति हुँदैन । विद्यार्थी नहुँदा विद्यालय बन्द हुने हुँदा शिक्षक पनि यार्सा सङ्कलनका लागि पाटन जाने गरेको प्रधानाध्यापक पुनले बताउनुभयो । 

उहाँका अनुसार रन्मा, मैकोट र पेल्मा क्षेत्रका विद्यालयमा वर्षे बिदा यार्सा सिजनमा मिलान गर्ने गरिएको छ । यार्सा सङ्कलनका लागि विद्यालय बन्द हुने र फेरि वर्षे बिदा गर्दा कोर्स पूरा नहुने भन्दै यस क्षेत्रमा वर्षे बिदालाई कटाएर यार्सा सिजनमा बिदा दिने गरिएको भनाइ प्रधानाध्यापक पुनको छ । 

जिल्लाको माथिल्लो लेकक्षेत्रका स्थानीयवासीको रोजीरोटीसँगै आयआर्जनको आकर्षक पेसा भनेकै यार्सा सङ्कलन र बिक्री वितरण हो । एक सिजनमा यार्सा सङ्कलन गरी वर्षभरिको खर्च धान्नुपर्ने भएकाले विद्यालय नै बन्द गरेर भए पनि शिक्षक, विद्यार्थी र अभिभावक यार्सा सङ्कलन गर्न जाने गरेको मैकोटका विकास पुनले बताउनुभयो । 

अहिले माथिल्लो क्षेत्रका बस्तीमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान छन् । यार्सा सङ्कलनका लागि सबै पाटन उक्लिएपछि गाउँ नै सुनसान भएको पुनले बताउनुभयो । 

यार्सा सिजनका लागि बन्द भएका केही विद्यालय भने असारको पहिलो हप्तासम्मा खुल्ने छन् । मैकोट क्षेत्रका विद्यालय असार २ गतेबाट खोल्ने तयारी गरिएको छ । 

विगतका वर्षमा जेठको पहिलो साताबाट बन्द भएका विद्यालय असार १० गते  मात्र खुल्ने गरेका थिए । यस वर्ष यार्सा कम पाइने भएका कारण विद्यार्थी अलि छिटो गाउँ फर्किने भएकाले विद्यालय छिट्टै खुल्ने बताइएको हो । पुथाउत्तरगङ्गा गाउँपालिकाको पुपाल लेक, पूर्वाङ, फूलबारी, दङ्ला, पानीदाल, अरगिजालगायत क्षेत्रका स्थानीयवासी यार्सा टिप्न पाटनतिर जाने गरेका छन् ।