• ९ जेठ २०८१, बुधबार

दोलखा–नागदह सडक कालोपत्रे सुरु

blog

दोलखा समाचारदाता

चरीकोट, जेठ २८ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ मा रहेको दोलखा–नागदह सडकखण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । नगरपालिकाका इन्जिनियर राजुनारायण श्रेष्ठले एक करोड ७१ लाख ५८ हजार रुपियाँ (भ्याटबाहेक)को लागतमा सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी गत मङ्सिर मसान्तमा सीएबी–नाति जेभीले ठेक्का सम्झौता गरेको जानकारी दिनुभयो । हालसम्म सडक स्तरोन्नतिको कामको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । अहिले ५५७ मिटर सडकमा प्रिमिक्स पिच हाल्ने काम भइरहेको छ । चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहे तापनि मौसमको कारण काममा समस्या भइरहेको छ । 

यो सडकको सरदर चौडाइ पाँच दशमलव पाँच मिटर तथा कुल लम्बाइ आठ किलोमिटर रहेको नगरका इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । ठेक्का सम्झौताअन्तर्गत निर्माण कम्पनीले सोलिङ, ग्याबिन जाली भर्ने, मेसेनरी, कटिङ, फिलिङ, ढलान, पिच तथा पक्की ढल निर्माणलगायतका काम गर्नुपर्ने हुन्छ । कटिङ, फिलिङ, ग्याबिन जाली लगाउने तथा सोलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । यसैगरी स्तरोन्नतिको कामअन्तर्गत एक हजार मिटर पक्की ढल निर्माणको काम सकिएको छ ।