• ३१ वैशाख २०८२, बुधबार

बुद्ध सन्देशका मर्म

blog

नेपालको लुम्बिनी विश्वमै पवित्र भूमिका रूपमा चिनिन्छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म यही पावन भूमिमा सम्भव भयो । राजकुलमा जन्मिएका एक जना राजकुमार दरबारकै सुखसयलमा हुर्किनु स्वाभाविक थियो । स्वाभाविक राजा बन्ने सुनिश्चित भविष्यलाई तिलाञ्जली दिएर सिद्धार्थ गौतमले अन्वेषणकै आधारमा मानिसका दुःखका निराकरणको बाटो देखे, संसारलाई देखाउन सके । आजभन्दा दुईहजार ५६९ वर्षअघि जन्मिएका बुद्धको जयन्ती सोमबार मात्र मनाइयो । वैशाखपूर्णिमा दिन जन्मिएका सिद्धार्थले सोही दिन अर्थात् वैशाखपूर्णिमाकै दिन ज्ञान प्राप्त गरे । त्यस ज्ञानबाटै बुद्धत्व प्राप्त भयो ।

वैशाखपूर्णिमाकै दिनबाट ज्ञान प्रसार गर्न थाले भने वैशाखपूर्णिमाकै दिन बुद्धले भौतिक शरीर परित्याग गरे । त्यसैले वैशाख पूर्णिमाको दिन नेपाल र नेपालीका निम्ति मात्र होइन, संसारकै निम्ति उज्यालो दिन हो । यो दिनको अटुट सन्देशले संसारलाई शान्तिको मार्गमा अग्रसर हुने बाटो देखाएको छ । बुद्धकै नाममा स्थापित बुद्ध धर्म संसारभर फैलिएको छ । धर्मका निम्ति मात्र होइन, मानव जीवनको कर्मका निम्ति पनि बुद्धका सन्देश अटुट र निरन्तर गहन छन् । मानव कल्याण र भलाइका निम्ति उपयोगी छन् । भावी राजा बन्ने सम्पूर्ण सपना त्यागेर मानिसको दुःख र पीडाका कारण बुझ्ने त्यो युगलाई विवेचना गर्दा महान् परिकल्पनामा पुग्न सकिन्छ । अहिले जस्तो विद्यालय तथा विश्वविद्यालय नभएको त्यस समयमा ज्ञानको गहिराइमा पुग्नु सजिलो थिएन । दरबारको सुख सुविधामा ज्ञान असम्भव हुन्छ भन्ने निष्कर्षले नै युगपर्यन्त संसारलाई प्रज्वलित गरिरहेको छ ।

बुद्धले हासिल गरेको ज्ञान बोधितब्य हो । बोधि भन्नु अन्तिम सत्य हो । दरबारको सुखसुविधा त्यागेर जप, तप र साधनाबाट स्वयम् हासिल गरेको त्यो ज्ञान आफैँमा सीमित नराखी अरूमा प्रसार गर्न कठिनाइ झेल्नु स्वाभाविक थियो । भावी राजाले विरक्तिएर दरबार छोडेपछि सिद्धार्थ गौतमका पिता शुद्धोधन र माता मायादेवीले त्यसबेला कति आपत् बेहोरेका होलान् भन्ने पनि अनुमान गर्न सकिन्छ । त्यो असहजताका बिच बुद्धले उद्भव तथा प्रसार गरेका वाणी आज पनि उत्तिकै सान्दर्भिक छन् । बुद्धले लक्ष्यमा पुग्नुभन्दा यात्रा राम्रोसँग सम्पादन गर्नुलाई जरुरी भनेका छन् । स्पर्धाका नाममा बाटो बिराउने व्यक्ति, समाज र देशका निम्तिसमेत यो गहन सन्देश बन्न सक्छ । यस्तै बुद्धले शरीरलाई शुद्ध राख्नुलाई पहिलो कर्तव्य भनेका छन् ।

अस्वस्थ शरीरको मन, विचार र निर्णय सही हुन नसक्नु स्वाभाविक हो । शान्ति मानिसको मनभित्रैबाट खोजिनु बुद्धको सबैभन्दा महान् सन्देश हो । संसारका युद्धका सबै निर्णय कुनै पनि शासक वा व्यक्तिकै निर्णयबाट आउने हो । यसबाट मानिसले नै मानिसका निम्ति अशान्ति पैदा गरेको छ । अनेक युद्ध र अशान्तिको बीजारोपण गरेको छ । शान्ति र प्रेमले मानव सभ्यता सजाउन सकिने बुद्ध सन्देश युग युगका निम्ति सही, सत्य र व्यावहारिक छन् ।

बुद्धका सन्देश विश्वभर प्रसार गर्न नेपालको भूमिका युगौँदेखि पवित्र छ । यो पवित्र भूमि लुम्बिनी र सिङ्गो नेपाल आउन विश्वका सबै शान्तिप्रिय मानिसको अटुट चाहना हुन्छ । लुम्बिनीमा विशाल ध्यान संरचना बनाएर नेपालले विश्वलाई आकर्षित गर्ने मार्ग प्रशस्त गरेको छ । बुद्ध सन्देशबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ, “बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महŒव छ ।” बुद्धजयन्तीका दिन व्यक्त यी विचार व्यक्तिको जीवनका साथै देशको संस्कृति, सभ्यताको उन्नयनमा पनि उत्तिकै महŒवपूर्ण छन् । शान्तिबिना समृद्धि असम्भव छ । विश्वभर अहिले पनि अनेकौँ युद्धका बादल मडारिरहेका छन् ।

युद्धमा विनियोजन गरिएको बजेटले संसारका कैयौँ अभावग्रस्त मानिसको जीवन उज्यालो बनाउन सकिन्छ । अहिलेको विज्ञान र प्रविधिको अन्वेषण, विकास र विस्तार मानव समाजकै कल्याणका निम्ति हो तर मानिसकै मनबाट उद्भव हुने ईष्र्या, घमण्ड र तँछाडमँछाडका कारण सदाब्दिऔँदेखि मानिसले दुःख पाइरहेको छ । अनेकको ज्यान गएको छ । धन स्वाहा भएको छ । मानिसको रौद्र रूपले शान्ति प्रतिकूल युद्ध बादल मडारिइरहेका छन् । अतः बुद्धका शान्तिमार्गका वाणी र सन्देशका मर्मले विश्वलाई नै सही मार्गनिर्देश गर्न सक्ने देखिन्छ ।