• २६ वैशाख २०८२, शुक्रबार

विकास ओसार्दै कर्णाली कोरिडोर

blog

कर्णाली कोरिडोरको हुम्ला खण्ड ।

उत्तर–दक्षिण कर्णाली कोरिडोरले यहाँको विकासको ढोका मात्र खोलेको छैन, कर्णालीको समृद्धिसँगको भविष्य पनि जोडिएको छ । अझ भनौँ यो उत्तर–दक्षिण लोकमार्गको निर्माणले सिङ्गो राज्यको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास जागेको छ । त्यसैले सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको छ । यस मार्गको स्तरोन्नतिसहित कालोपत्रेको काम छिटो गर्न सक्ने हो भने कर्णालीको जीवनमार्ग बन्ने निश्चित छ । 

राष्ट्रिय गौरवको आयोजना

भारत र चीनसँग जोड्ने मुख्य सडक हो– कर्णाली कोरिडोर । जुन दक्षिणको बाँकेको जमुनाहदेखि उत्तरको हुम्लाको हिल्सासम्म पर्दछ । कर्णाली प्रदेशको विकास र समृद्धिको मेरुदण्डका रूपमा हेरिएको कोरिडोरको काम करिब करिब अन्तिम चरणमा पुगेको छ । अब आठ सय मिटर मात्र ट्र्याक खोल्न बाँकी छ । कोरिडोरको हुम्ला खण्डको सदरमुकोट सिमकोट आसपासको क्षेत्रमा सडक निर्माण कार्य रोकिएको छ । त्यो पनि स्थानीय जग्गाधनीसँग केही कुरा नमिल्दा हाल काम रोकिएको हो । बाँकेको जमुनाह नाका हुँदै कर्णाली राजमार्ग र कालीकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सिमकोटबाट हिल्सासम्म सिधै यातायातका साधन सञ्चाल हुन सके मानसरोवर कैलाशको यात्रा तय गर्न निकै सहज हुने छ ।

जमुनाहदेखि हिल्सासम्मको ५०८ किलोमिटर दुरी रहेको सो कोरिडोरमा जमुनाहदेखि कालीकोटको खुलालुसम्म २३९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । खुलालुदेखि हिल्सासम्म २६९ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य पूरा भई हाल यातायातका साधन सञ्चालनमा छन् । यसबिचमा बाजुराको पिलुचौरदेखि हुम्लाको सलीसल्लासम्मको ५० किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रेका लगि टेन्डर आह्वान भएको अवस्था छ । 

अर्को कुरा, हालसम्म औपचारिक रूपमा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । खार्पुको दोजाम कर्णालीमा हिउँदमा पानी कम हुने भएका कारण कर्णाली नदी तरेर यतिबेलासम्म यातायात साधन गुड्दै आएका छन् । सो नदीमा सेनाले बेलिब्रिज निर्माण कार्य पनि जारी राखेको छ । सडक निर्माणले गर्दा अहिले नेपालगन्ज, सुर्खेतबाट गाडी सिधै हुम्लाको खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म आउने गरेका छन् ।

खुलालु–सलीसल्ला सडक निर्माणको जिम्मा २०७१ साल चैत ९ गतेबाट नेपाली सेनालाई जिम्मा लगाइएको थियो । निर्माण कार्य सम्पन्न भएपछि सेनाले यो काम २०७८ असार ३१ गते पूरा गरेर हस्तान्तरण गरेको थियो । यसै गरी हुम्ला जिल्लामै पर्ने दुल्लीकुनादेखि लालीबगरको असजिलो सडक पनि सेनाले नै निर्माण गरेको हो । अहिले यो खण्डमा यातायातसमेत सुचारु हुँदै आएका छन् । कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली कोरिडोरको बाँकी हुम्ला खण्डमा ट्र्याक खुलाउने कार्य भएको छ । कर्णाली कोरिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो कोरिडोर निर्माण छिटो भएको हो । 

हालको कर्णाली प्रदेशमा १० वटा जिल्ला पर्छन् । यसमा सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्ला पहिले नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए तर साबिकको कर्णाली अञ्चलका पाँच वटा जिल्लामा निकै पछि मात्र राष्ट्रिय सडक सञ्जाल जोडिएका हुन् । अझै पनि हुम्ला जिल्ला औपचारिक रूपमा जोडिन बाँकी नै छ । कर्णालीको अर्को हिमाली जिल्ला डोल्पा पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिइसकेको छ । जुम्ला जिल्ला भने २०६३ सालमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । त्यसपछि मुगु जिल्ला जोडिएको थियो । 

दैनिकी सहज हुँदै

कोरिडोर जोडिएसँगै कर्णालीका हिमाली जिल्लामा दैनिक उपभोग्य सामानको मूल्य सस्तो भएको छ । यसअघि जुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिँदा सामग्रीको मूल्य सस्तिएको सुन्नुभएका ताँजाकोट गाउँपालिका–२ का धर्मराज जोशीले अहिले आफैँ गाउँमा सो कुरा भोग्नुभएको छ । सबै सामग्रीको मूल्य सस्तो हुँदै आएकाले हुम्लीलाई राहत महसुस भएको छ । सामग्रीको मूल्य सस्तिएपछि विकास भनेकै सडक सञ्जाल भएको जोशीकोे बुझाइ छ । 

सडक सञ्जाल नजोडिँदा बाजुराको कोल्टी हुँदै खच्चडमा आउने सामानको ढुवानी दर प्रतिकेजी ७० रुपियाँ पर्ने गर्दथ्यो । अहिले प्रतिकेजी १० रुपियाँमा सामान आउन थालेको छ । पहिले खच्चडमा सामान ढुवानी हुँदा जथाभाबी ढुवानी दर तिर्नु पथ्र्यो भने अहिले उक्त दर निर्धारण गरिएको छ । अझ वडा वडाका बस्तीमा गाडी गुड्न थालेपछि यो फरकपनको अनुभूति सबैतिर हुन थालेको छ । कतिपय स्थानीयले पहिले धेरै ढुवानीदर तिर्नु परेको कुरालाई सपना जस्तोसमेत भन्न थाल्नुभएको छ । 

विकासे कामको लागत घट्यो 

व्यक्तिगत वा सरकारी विकासे काममा लागत अनुमान घटेको छ । यो कार्यान्वयनमा समेत आएको छ । चर्को ढुवानी तिर्नुपर्ने बाध्यता हटेपछि विकासमा लागत घटेको हो । आठ हजार मूल्य पर्ने सिमेन्टको अहिले १४ सय रुपियाँमा झरेको छ । त्यसै गरी जस्तापाता, फलाम, छड, ग्याबिनको मूल्य पनि घटेको छ । सामग्रीको मूल्य घटेपछि विकास पनि सस्तिएको छ । अब यतिबेला विकास नगरे कहिले गर्ने भन्ने सोचाइमा जनप्रतिनिधि पुगेका देखिन्छ । ढुवानी नै बढी लाग्ने हिमाली क्षेत्रमा सडक यातायात जोडिएका बस्तीमा ४० प्रतिशत लागत कम लाग्न थालेको छ । 

बिरामी हुँदा सहज

गाउँमा पहिले बिरामी हुँदा हुम्लाबाट बाजुराको कोल्टी विमानस्थल हुँदै हवाईजहाजमा नेपालगन्ज वा सुर्खेत पुग्न दुईदेखि तीन दिन लाग्ने गथ्र्यो । त्यो पनि बाजुराको कोल्टीमा टिकट पाएपछि मात्र वा सदरमुकाम सिमकोट ल्याउन चार दिन पैदल हिँड्नुपर्ने अवस्था थियो । त्यसैले कतिपय बिरामीले उपचारको अभावमा मृत्युको मुखमा जानुपर्ने हुन्थ्यो । त्यो पनि स्ट्रेचर वा मानिसले बोकेर लिनुपर्ने अवस्था थियो तर अहिले अवस्था त्यो रहेन । सडक सञ्जाल जोडिएसँगै बिरामीलाई गाडीमै लैजाँदा पनि एक दिनमै सुर्खेत वा नेपालगन्ज पु¥याउन सकिने अवस्था छ । त्यस्तै परे काठमाडौँसमेत पु¥याउन सकिन्छ । सडक जोडिएपछि काम विशेषबाहेक दक्षिणी हुम्लाका स्थानीय सदरमुकाम सिमकोट आउन छाडेका छन् । 

खानपानमा पनि परिवर्तन

कुनै दिन भात, रोटी र तरकारी मात्र दैनिक रूपमा उपभोग गर्ने कर्णालीवासीको खानपानमा समेत परिवर्तन आएको छ । जिल्लाबाहिर जानेक्रममा सबै नागरिकलाई सहज भएपछि बाहिर देखेभोगेका कुराले यो परिवर्तन गर्न सम्भव भएको छ । अहिले सबैका भान्सामा दालभात, रोटी, तरकारी, अचार पाक्न थालेको छ । आफूसँग भएको सामग्रीबाट मिठोमसिनो परिकार बनाएर खान थाल्नु पछिल्लो परिवर्तन हो । 

एक दिनमै काठमाडौँ

सडक नजोडिँदासम्म एक हप्ताको हिँडाइपछि काठमाडौँ पुग्ने दक्षिणी हुम्लाका बासिन्दा अहिले एक दिनमै काठमाडौँ पुग्न थालेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको अनुभव छ । सडक जोडिएपछि धेरै पटक एक दिनमै काठमाडौँ पुगेको अनुभव उहाँले सुनाउनुभयो । सडक यातायात भनेको विकासको मेरुदण्ड भएको बताउने उहाँले सडक जोडिनु र नजोडिनुमा आकाश जमिनको फरक महसुस हुन थालेको बताउनुभयो । सडक सञ्जालसँग जोडिनु र सङ्घीयताको कार्यान्वयनसँगै जिल्ला सदरमुकाम आउने हुम्लावासीको सङ्ख्यामा एक्कासि कमी आएको छ । अहिले आउनैपर्ने नागरिक नागरिकता बनाउन मात्र आउने गर्नुहुन्छ । पहिले सुर्खेत, नेपालगन्ज र काठमाडौँ जान पनि चार दिन पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता थियो । सडक जोडिएपछि त्यो बाध्यता हटेको छ । काम विशेषले मात्र नागरिक जिल्लामा आउने गर्नुहुन्छ । अर्को सङ्घ र प्रदेश सरकारबाट निर्माण हुने योजनाको सम्झौता र भुक्तानीका लागि आउने सङ्ख्या देखिन्छ । 

आयआर्जनको विकल्प रोज्दै 

पहिले ढुवानी समस्याले कुनै आम्दानी हुने कार्य गर्नेतर्फ सोच नबनाएका स्थानीय अब आम्दानी हुने उत्पादन गर्नेतर्फ सोच्न थाल्नुभएको छ । किनकि गाउँ गाउँमा आइपुगेका गाडीले बाहिरबाट मालसामान मात्र आयात गर्ने तर आफ्नो गाउँठाउँबाट खाली गाडी पठाउनुपर्ने अवस्था आएपछि त्यसतर्फ स्थानीय सोच्न बाध्य भएका छन् । अब गाउँपालिकाले फलफूल र रैथाने बालीको प्रवर्धन गर्ने कार्यक्रम अगाडि बढाउने लक्ष्य लिएको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीको भनाइ छ । उत्पादन भएर बाहिर निकासी गर्न सके मात्र जनताको जीवनस्तर माथि उकास्न सकिने विचार उहाँको छ । उहाँको गाउँपालिकाले कृषि क्षेत्रको हब बनाउने कार्यक्रम तय गरेर कार्यान्वयनमा आएको छ । अर्को कुरा सडक जोडिएकै कारण कर्णालीका हिमाली जिल्लामध्ये सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाका स्याउ सहजै देशका विभिन्न क्षेत्रमा पु¥याउन सहज भएको छ ।

अन्त्यमा, कर्णाली कोरिडोरलाई अब स्तरोन्नति र कालोपत्रे गर्ने गरी काम अगाडि बढाउनु आवश्यक छ । अझै पनि खुलालुबाट हिल्सासम्म पर्ने सडकको स्तरोन्नति गर्न बाँकी छ । यो खण्डको धुलाम्मे र साँघुरो सडकमा यातायातका साधन गुड्न बाध्य छन् । यसपछि अझै सहजता हुने कुरामा कुनै दुविधा छैन । कर्णाली कोरिडोरले बिस्तारै विकास ओसार्दै छ । जसका कारण कर्णालीले पाइला सुगमतिर चाल्दै छ ।