• २६ वैशाख २०८२, शुक्रबार

पुनर्स्थापनाको चेपुवामा कर्णाली

blog

इतिहासमा कुनै समय स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न शक्तिशाली खस राज्य अन्तर्गत शासित तथा खस नेपाली भाषा र संस्कृतिको उद्गमस्थलका रूपमा आफ्नो अलग्गै पहिचान र गौरवपूर्ण इतिहास बोकेको भूभाग हो, हालको कर्णाली प्रदेश । विसं १८४६ मा एकीकृत नेपालको हिस्सा बनेसँगै यस भूभागले आफ्नो स्वतन्त्रता, सार्वभौमसत्ता, अनि सानसौकत मात्र गुमाएन, पहिचान पनि गुमायो । एकीकृत नेपाल अन्तर्गत निरङ्कुश तन्त्र, प्रजातन्त्र हुँदै लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा गरिबी, भोकमरी, अविकास अनि पछौटेपन यस क्षेत्रको पहिचानको पर्यायवाची बन्न पुगेको छ ।

यस क्षेत्रका बासिन्दा कर्णालीको नकारात्मक पहिचान बन्नमा केन्द्रीय सत्ताको बेवास्तालाई प्रमुख रूपमा जिम्मेवार ठान्दछन् । के साँच्चै कर्णाली प्रदेश आमजनमानसको मानसपटलमा कोरिएको चित्र जस्तै गरिब, अविकसित, पिछडिएको क्षेत्र हो त ? कि शासकीय भाष्य निर्माण गरिएको मात्र हो ? के कर्णालीको परिवर्तित पहिचान यस क्षेत्रका बासिन्दाले भने जस्तै केन्द्रीय सत्ताले गरेको बेवास्ताकै प्रमुख कारण हो त ? नेपालमा भएका राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनको सकारात्मक प्रभाव यस क्षेत्रमा पर्दै परेको छैन त ? आखिर किन यतिका समयसम्म पनि कर्णालीका बारेको नकारात्मक भाष्यलाई सकारात्मकतातर्फ रूपान्तरण हुन सकिरहेको छैन ?

देश सङ्घीय संरचनामा रूपान्तरण भइसकेपछि यस क्षेत्रले छुट्टै प्रदेशको अस्तित्व प्राप्त गरेको छ । समृद्ध एवं आत्मसम्मानसहितको गौरवपूर्ण पहिचान निर्माण गर्ने अवसर यस क्षेत्रका आमनागरिकदेखि नेतृत्व तहसम्मलाई प्राप्त भएको छ । नेपाल एकीकृत हुनुपूर्वको वैभवशाली इतिहास बोकेको कर्णालीमा एकाएक कसरी मौलायो गरिबी, भोकमरी, अविकसित अनि पछौटेपन ? कर्णालीका बारेमा जुन प्रकारको भाष्य अहिले निर्माण भएको छ, त्यो एक रातमा पक्कै भएको होइन, न त यसको निर्माण कुनै एक मात्र कारणले नै भएको हो । 

यसका पछाडि विविध कारण र कर्ता जिम्मेवार रहेका छन् । कर्णालीबारे यस प्रकारको भाष्य निर्माणमा देशले अवलम्बन गरेको राजनीतिक, आर्थिक तथा सामाजिक प्रणाली त जिम्मेवार छ नै, विश्व व्यवस्था र स्थानीय समुदाय पनि त्यतिकै जिम्मेवार रहेको छ । जसलाई बुझ्न सङ्क्षेपमा कर्णालीको इतिहासको तार्किक विश्लेषण गर्नैपर्ने हुन्छ । इतिहासलाई अनुमान गरेर न त कर्णालीबारे निर्मित भाष्यका बारेमा बुझ्न सकिन्छ, न त यसको रूपान्तरण नै गर्न सकिन्छ ।

समृद्ध कर्णालीका आधार

तत्कालीन समयमा खस राज्यले यस क्षेत्रमा विशिष्ट प्रकारको आफ्नै शासन प्रणाली, न्याय प्रणाली, समाज र संस्कृति तथा व्यापार व्यवसायको विकास गरेको देखिन्छ । इन्जिन गाडीको विकास नभइसकेको उक्त समय खस राज्य हुँदै भारत र तिब्बत जोड्ने घोडा दौडाउन मिल्ने घोडेटो बाटोको विकास यस क्षेत्रमा भएको देखिन्छ । जसले तत्कालीन समयमा यस क्षेत्रमा पर्यटन तथा व्यापार व्यवसायको राम्रो विकास भएको थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । 

आफ्नो मजबुत धरातल नभएसम्म कुनै पनि राज्य समृद्ध र शक्तिशाली हुन सक्दो रहेन छ । कुनै पनि राज्य समृद्ध र शक्तिशाली त्यतिबेला मात्र बन्न सक्दछ, जतिबेला त्यसले आफ्नै उभिने धरातल (राजनीतिक, आर्थिक र सामाजिक संस्कृति) निर्माण गर्न सक्दछ भन्ने कुराको उदाहरण खोज्न कतै टाढा जानु पर्दैन । हाम्रै छिमेकी मुलुकलाई हेर्दा हुन्छ ।

तत्कालीन समयका तथ्यलाई केलाउँदा आयमा स्थानीय आत्मनिर्भरता, राजनीतिमा अपनत्वभाव अनि सामाजिक, सांस्कृतिक रूपमा विभिन्न सांस्कृतिक समूहबिचको एकतामार्फत खस राज्यले आफ्नो आधार स्तम्भ खडा गरेको थियो भन्ने देखिन्छ । जस अन्तर्गत खस राज्यले स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादन, पशुपालन तथा उत्पादित वस्तुभावमा आधारित व्यापार व्यवसायको अभिवृद्धिमा जोड दिँदै राज्यलाई आयमा आत्मनिर्भर बनाएको थियो भन्ने कुरा ऐतिहासिक तथ्यले देखाउँछ । राजनीतिक रूपमा तत्कालीन खस राज्यमा अहिलेको जस्तो लोकतान्त्रिक शासनको अभ्यास नभए पनि स्थानीयको स्वशासन स्थापित थियो । जसले गर्दा आमजनतामा सरकार र शासनप्रति अपनत्व भावको सिर्जना गरेको थियो । राजनीतिप्रति विकास भएको अपनत्वले खस शासकलाई शासन सञ्चालनका लागि उत्प्रेरणा र आत्मविश्वास प्रदान गरेको थियो । त्यस्तै खस भाषाको विकास तथा विस्तारमार्फत विभिन्न सांस्कृतिक समुदायलाई एकताबद्ध बनाउँदै खस राज्यको सामाजिक, सांस्कृतिक जग बलियो बनाउने कार्य खस शासकले गरेका थिए । तत्कालीन समयमा निर्माण गरिएका र हाल संरक्षण तथा पुनर्निर्माणको पर्खाइमा रहेका यस क्षेत्रमा छरिएर रहेका धार्मिक मठमन्दिर, गुफा, देवल यसका बलिया प्रमाण हुन् । स्थानीय उत्पादनमा आधारित स्थानीय बासिन्दाको दैनिकी सञ्चालनलाई समृद्धि खस राज्यको अर्को बलियो आधारका रूपमा लिन सकिन्छ ।

खस राज्यको विघटनसँगै खस्किँदै गएको कर्णालीको साख तत्कालीन बाइसे राज्यमध्येको एक जुम्ला राज्यको अस्तित्वकालसम्म केही हदसम्म कायम रहेको थियो भन्ने तथ्य इतिहासले पुष्टि गरिसकेको छ । विसं १८४६ मा जुम्ला राज्य एकीकृत नेपालमा गाभिएसँगै वैभवशाली कर्णालीको साख खस्किँदै गयो र पञ्चायतकालको अन्त्यसम्म आइपुग्दा कर्णाली क्षेत्रको पहिचान नै परिवर्तन हुन पुग्यो । हुँदै जाँदा गरिबी, भोकमरी, अविकास र पछौटेपन यस क्षेत्रको पहिचान बन्न पुग्यो । आखिर किन कर्णालीबारे यस प्रकारको नकारात्मक भाष्य निर्माण हुन पुग्यो ? के साँच्चै कर्णालीमा पछिल्लो समय निर्माण भएको भाष्य जस्तै गरिबी, भोकमरी, अविकास अनि पछौटेपन व्याप्त छ त ? यसको विश्लेषण हुन आवश्यक छ ।

उत्पादनका हिसाबले कृषिजन्य उत्पादन र पशुपालन विगतदेखि नै यस क्षेत्रको प्रमुख उत्पादनका रूपमा रहँदै आएको छ तर यस क्षेत्रको पहिचानमा भने परिवर्तन आएको छ । भारतीय भूमितिरको बढ्दो आवागमनले यस क्षेत्रका बासिन्दा र नेपाल सरकारबिचको सम्बन्ध झन् झन् पातलो हुँदै गयो । लामो समयसम्म नेपाल सरकार र कर्णालीका बासिन्दाको सम्बन्ध औपचारिकतामा मात्र सीमित हुन पुग्यो । दुवै पक्ष एकअर्काप्रति बेखबर हुँदा यस क्षेत्रको विकासले स्वाभाविक गति लिन सकेन । परिणाम तत्कालीन खस साम्राज्य र जुम्ला राज्यको समयमा कृषि, पर्यटन तथा व्यापारलगायतका क्षेत्रमा सुरु भएको विकासका गतिविधि नै प्रभावित हुन पुगे । भारतीय भूमिलाई आफ्नो जीविकोपार्जनको गन्तव्य बनाउने स्थानीय बासिन्दाको सङ्ख्या वृद्धि हुँदै जाँदा स्थानीय स्रोतसाधनको खोज, अनुसन्धान, उपयोग तथा उपभोग अवरुद्ध भयो । कर्णालीको अर्थतन्त्रको जग खलबलियो । आयमा स्वदेशी तथा विदेशी परनिर्भता बढ्दै गयो । एकातिर स्थानीय उत्पादनमा दिनप्रतिदिन हुँदै गएको ह्रास र अर्कोतिर भारतीय लाहुरे संस्कृतिको प्रभावले यस क्षेत्रमा बाह्य उपभोक्ता संस्कृतिको विकास भयो । जसले स्थानीयस्तरको उत्पादन संस्कृतिलाई झन् धराशायी बनाउने र परनिर्भरतालाई अझ बढाउने काम ग¥यो । हुँदा हुँदा पञ्चायत व्यवस्थाको अन्त्यसम्म आइपुग्दा बाह्य सामग्रीले स्थानीय सामग्रीलाई विस्थापन गर्ने काम ग¥यो । स्थानीयस्तरमा पर्याप्त मात्रामा उत्पादन हुने खाद्य सामग्री अखाद्य सामग्रीमा परिणत भए । आयमा पहिलेदेखि नै परनिर्भर बन्दै आएको कर्णालीमा खाद्यान्नमा पनि परनिर्भरता बढेसँगै स्रोतसाधनले भरिपूर्ण हुँदाहुँदै पनि गरिबी, भोकमरी, अविकास पछौटेपन कर्णालीको पर्यायवाची बन्न पुग्यो । कर्णालीप्रतिको नकारात्मक भाष्यले प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि निरन्तरता पाइरहनु दुःखद पक्ष हो । 

पञ्चायतकालको अन्त्यसम्म हाल कर्णाली प्रदेश अन्तर्गत पर्ने १० जिल्लामध्ये मुस्किलले दुई वटा जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएका थिए । अहिले प्रदेश अन्तर्गतका जिल्ला सदरमुकाम मात्र नभई अधिकांश पालिकाका मुकाम सडक सञ्जालमा जोडिएका छन् । जसलाई छोटो अवधिमा भौतिक पूर्वाधारको क्षेत्रमा कायापलट नै भएको मान्नु पर्छ । हाटबजारमा सीमित रहेका जिल्ला सदरमुकामका बजार अहिले अन्तर्राष्ट्रियस्तरका सामान पाइने व्यापारिक केन्द्रका रूपमा विकास भएका छन् । तीन/चार दशकअघिको तुलनामा व्यावसायिक कृषिको प्रचलन तीव्र गतिले बढेको छ । वैदेशिक रोजगारी भन्नेबित्तिकै भारतभन्दा अन्यत्र जाने भन्ने कसैको कल्पनामै थिएन । आज यस क्षेत्रका युवाको वैदेशिक रोजगारीको केन्द्र परिवर्तन भएको छ । जसले गर्दा बर्सेनि ठुलो धनराशि रेमिट्यान्सका रूपमा भित्रिरहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रको विकासले पालिका मुकाममा बैङ्कका शाखा स्थापना भई जनतालाई सेवा प्रदान गर्दै आएका छन् ।

शैक्षिक क्षेत्रको पनि उल्लेख्य प्रगति भएको छ । प्रदेशका लगभग सबै जसो जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । केही दशकअघिसम्म कर्णाली प्रदेशमा उच्च शिक्षा भन्नेबित्तिकै केही सीमित व्यक्तिको पहुँचको विषय मानिन्थ्यो । आज प्रत्येक जिल्लामा दुई वा दुईभन्दा बढी उच्च शिक्षा प्रदायक संस्था खुलेका छन् । अहिले प्रदेशमा एउटा विश्वविद्यालय र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई उच्च शिक्षा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य क्षेत्रको आँकडा हेर्ने हो भने पनि कर्णाली प्रदेशमा आजभन्दा दुई दशकअघिसम्म जनताले सिटामोलका लागि भौँतारिनुपर्ने अवस्था थियो । अहिले प्रदेशका हरेक जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्यकर्मीसहितको सेवा उपलब्ध हुँदै आएको छ ।