• २७ वैशाख २०८२, शनिबार

सुशासनसहितको समृद्धि यात्रामा छौँ : मुख्यमन्त्री शाह

blog

कमलबहादुर शाह मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश

विसं २०४४ देखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशमा दुई पटक मुख्यमन्त्रीको जिम्मेवारी पाउने पहिलो राजनीतिकर्मी हुनुहुन्छ । उहाँले अहिलेकै प्रदेश सभाको कार्यकालमा फरक फरक समीकरणमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाउनुभएको हो । उहाँले पहिलो पटक २०७९ माघ २७ देखि १४ महिना र पछिल्लो पटक २०८१ साउन २१ बाट मुख्यमन्त्रीको जिम्मेवारी समाल्दै आइरहनुभएको छ । प्रस्तुत छ, मुख्यमन्त्री शाहसँग गोरखापत्र दैनिकका प्रदेश संयोजक प्रकाशविक्रम शाहले सुशासन, प्रदेश राजधानी निर्माण, लगानी सम्मेलन, आगामी बजेट र सङ्घीयता कार्यान्वयनका विषयमा गर्नुभएको कुराकानी :

सुदूरपश्चिममा दोस्रो प्रदेश सभाको निर्वाचनपछि दुई पटक मुख्यमन्त्री हुने सौभाग्य पाउनुभयो । पहिलो र दोस्रो कार्यकालमा के कस्ता अन्तर पाउनुभयो ?

दोस्रो कार्यकालमा म नियुक्त हुँदा बजेट पास नभएको अवस्था थियो । समयमा बजेट बन्न नसकेकाले धेरै कुरा प्रभावित भएथे । त्यस कारणले त्यो बजेटमाथि छलफल गर्न पर्याप्त समय पनि भएन । बजेट कार्यान्वयमा पनि समस्या देखिएको थियो । यो दोस्रो कार्यकालमा त झन् बजेटमै धेरै समस्या भोग्नु पर्‍यो । पहिलो कार्यकालमा भने समयमै बजेट आएको थियो । कर्मचारीको सरुवा पनि समयमै गर्न सकिएको थियो । बजेट कार्यान्वयनको पाटो पनि राम्रो थियो, प्रगति पनि भएको थियो । 

दोस्रो कार्यकालमा निजामती ऐन पनि पास गर्न सकिएको छ । स्थानीय तह सञ्चालनसम्बन्धी ऐन फेरि सदनमा गएको छ । त्यो पनि सदन चल्नेबित्तिकै पारित हुन्छ । सात/आठ वर्षदेखि निजामती सेवा ऐन पास हुन सकेको थिएन तर त्यो अब पास भएको छ । कर्मचारीको व्यवस्थापन भए सरकारलाई काम गर्न र सुशासन कायम गर्न पनि सहज हुन्छ । पहिलो कार्यकालमा धेरै व्यवस्थापनका विषयमा र यो पटक सुशासन, नीतिगत सुधारमा उपलब्धिपूर्ण काम भएका छन् । यिनै कारण वित्तीय आयोगको सर्वेक्षणमा सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा आउन सफल भएको हो ।

पहिले साना दलसँग र अहिले कांग्रेसकै मुख्य प्रतिस्पर्धी दल एमालेसँग सहकार्य गरेर काम गर्न कत्तिको सहज छ ?

मलाई पहिलेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको सहयोगको जुन गठबन्धन थियो; त्यतिबेलाका साथीहरूसँग सहकार्य गरेर, सहमति गरेर अगाडि बढ्न कुनै पनि समस्या थिएन । मेरो स्वभावले पनि होला; यसपालि पनि कांग्रेस, एमाले र नागरिक उन्मुक्तिको समीकरणमा काम गर्न त्यस्तो समस्या छैन । स्वाभाविक रूपमा दलीय स्वार्थ झल्किन्छन् । त्यसमा अलिकति दबाब छ । त्यसलाई पनि मिलाएर अगाडि बढ्ने वातावरण बनाइएको छ । अघिल्लो कार्यकालमा राजनीतिक नियुक्तिका काम धेरै थिएनन् । यो कार्यकालमा नियुक्तिका काम बढी गर्नुपर्ने छ । तर पनि सल्लाहमै सबै नियुक्तिका काम पूरा गर्ने वातावरण बनेको छ । सबैसँग सहकार्य र सहमति गर्ने वातावरण बनाएर अगाडि बढिरहेको जस्तो मलाई लागेको छ । 

आगामी बजेट अहिलेकै बजेटको निरन्तरता हो कि केही फरक ढङ्गको आउँछ ? 

यस पटक साढे २४ अर्बको बजेटको आकार बनाउने गरी छलफल अगाडि बढेको छ । गत वर्षको भन्दा यो वर्षको बजेटको आकार स्वाभाविक रूपमा घट्छ । यो अवस्था सबै प्रदेशमा आउँछ । मेरो धारणा पनि बजेटमा अनावश्यक रूपमा दायित्व सिर्जना गर्नु हुँदैन भन्ने हो । त्यसैले बजेट हाम्रो साधन, स्रोत र सामथ्र्य बमोजिम नै ल्याउने छौँ । यसका लागि हामी अर्थविद्, उद्योगी व्यवसायी र स्थानीय तहसँग पनि छलफलमा छौँ । बजेट विनियोजन गर्ने विषयमा, बजेटका आधारहरूका बारेमा प्रदेश सभाका सदस्यहरूसँग पनि छलफल गरिरहेका छौँ । 

आगामी बजेटका मुख्य प्राथमिकता के के हुने छन् ? 

हामीले चाहेर पनि नयाँ कार्यक्रम बनाएर जाने वातारण देखिँदैन । निजी क्षेत्रको लगानी खोज्न र अन्तर्राष्ट्रिय सहयोग बढाउनेतर्फ म लागेको छु । निजी क्षेत्रलाई उद्योगधन्दा स्थापना गर्ने वातावरण बनाइने छ । केही ठुला कृषिका कार्यक्रम लागु गर्ने योजनामा छौँ । विशेष गरी पहाडका बस्ती खाली हुन नदिन स्थानीय बालीको प्रवर्धनका लागि केही ठुला योजना बनाउनेतर्फ म लागेको छु । केही पर्यटन क्षेत्रका आधारभूत विषयमा छलफल गरेर अगाडि बढाउने काम भइरहेको छ । स्वास्थ्य क्षेत्रतर्फ प्रादेशिक अस्पताललाई ‘अपग्रेड’ गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौँ । निजी क्षेत्रका उद्योगधन्दा, कलकारखानाको स्तरोन्नति गर्न बजेटमार्फत केही न केही सम्बोधन गर्नु पर्छ जस्तो मलाई लागेको छ । 

कृषिको कुरा गर्नुभयो, विगतमा कोल्डस्टोर दुरुपयोग भयो भन्ने छ । यसलाई कसरी व्यवस्थापन गर्ने योजना बनाउनुभएको छ ?

मैले गत वर्ष पनि भनेको थिएँ, कोल्डस्टोरको माग अत्यधिक बढ्यो तर त्यसको सञ्चालन र उपयोग राम्रोसँग भएको छैन । कोल्डस्टोरमा लगानी गर्ने सन्दर्भमा हामीले कोल्डस्टोर सञ्चालनको वातावरण छ/छैन ? त्यहाँ उत्पादन कस्तो छ ? त्यसको अध्ययन गर्छौं । कोल्डस्टोर बनाएपछि त्यसको सञ्चालनको जिम्मा कसले लिने, रेखदेखको जिम्मा कसले लिने, आवश्यक सामग्रीको व्यवस्था कसले गर्ने भन्ने विषयमा छलफल गर्नु पर्छ । कुनै संस्था होस्, पालिका होस् या कुनै सरकारी संस्था; तिनको सञ्चालनको जिम्मेवारी त कसै न कसैले लिनु नै पर्छ । त्यसो नभए लगानी गर्नु हुँदैन ।

सरकारले बजेट खर्च प्रगति बढाउन नसकेको अवस्थामा सरकारले चाहे अनुसारको प्रगति कसरी सम्भव होला ?

सङ्घ र प्रदेशको खर्च गर्ने परम्परा नै हामीले परिवर्तन गर्न सकेका छैनौँ । किनभने बजेट खर्च वैशाखपछि गर्ने प्रचलन छ । यसलाई हामीले परिवर्तन गर्न सकिरहेका छैनौँ । यसलाई तोड्न हामीले असोजबाटै खर्च सुरु गर्न जरुरी छ । नेतृत्व गर्ने साथीहरू र कर्मचारीको सहयोग लिएर परिवर्तन गर्न सकिन्छ भन्नेमा हामी छौँ । 

सुदूरपश्चिममा खप्तडलगायतका धेरै महत्वपूर्ण पयर्टकीय क्षेत्र छन् तर प्रदेश सरकारले पर्यटन क्षेत्रको प्रवर्धन गर्न सकेन भनिन्छ नि ?

सुदूरपश्चिमको पयर्टन क्षेत्रलाई उठाउन के गर्न सकिन्छ भनेर तयारी गरिरहेका छौँ । विदेशी पर्यटक बढाउन काठमाडौँ–धनगढी हवाई भाडादर घटाउन सङ्घीय सरकारलाई आग्रह गरिरहेका छौँ । निजी क्षेत्र र सङ्घसंस्थाले पनि दबाब दिइरहेका छन् ।

स्वास्थ्यतर्फको कुरा गर्दा अछामको बयलपाटा अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । त्यसलाई बचाउन कुनै योजना बनाइएको छ कि ?

बयलपाटा अस्पतालको समाधान खोज्न हामीले एउटा समिति नै बनाएका छौँ । समितिले बयलपाटा अस्पतालको टिमसँग लामो छलफल गरेको छ । उहाँहरूलाई हामीले केही कुरा भनेका छौँ । प्रदेश सरकार बयलपाटालाई आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्न तयार छ । त्यसो गर्दा मङ्गलसेनमा रहेको जिल्ला अस्पताल र बयलपाटालाई एउटै दृष्टिकोण तथा नीतिनियमले चलाउनुपर्ने हुन्छ । बयालपाटा अस्पतालाई आउने सहयोग सामाजिक क्षेत्रमा कसरी खर्च गर्ने भन्नेबारे पनि छलफल भएको छ ।

गेटामा मेडिकल कलेज बनाउन ठुलो खर्च भएको छ तर अहिले अलपत्र अवस्थामा छ । यसको सञ्चालनका लागि सङ्घीय सरकारसँग कसरी समन्वय गरिरहनुभएको छ ?

गेटा अस्पतालको विषयमा लामो समयदेखि छलफल भइरहेको छ । यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन गराउने तयारी भइरहेको छ । त्यसमा हामीले सेती प्रादेशिक अस्पताललाई जोड्नु पर्छ भनेर सङ्घीय सरकारसँग भनिसकेका छौँ । त्यो कुरामा मोटामोटी सहमतिको आधार तयार भइसकेको छ । त्यो आधारमा सेतीलाई गेटामा गाभ्ने र यही शैक्षिक सत्रबाट अध्ययन सुरु गर्ने गरी छलफल भइरहेको छ । गेटाका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीसँग धेरै पटक आग्रह गरेका छौँ ।

लगानी सम्मेलन गर्न खोज्दै हुनुहुन्छ, के कस्तो तयारी भइरहेको छ ?

लगानी सम्मेलन आगामी असोज १ र २ गते आयोजना हुँदै छ । त्यसका लागि आवश्यक पर्ने समिति र सचिवालय बनाइसकेका छौँ । चाँडै अवधारण पत्रले अन्तिम रूप पाउँछ । जेठ २१ गते पूर्वतयारी बैठक हुन्छ । प्रारम्भिक बैठकमा योजनाबारे छलफल हुने छ । त्यो बैठकमा छिमेकी देशका राजदूत वा प्रतिनिधि, विकास साझेदार संस्थाका नेपाल प्रमुखहरू र नेपालकै उद्योगी, व्यवसायी तथा विज्ञलाई पनि बोलाउँदै छौँ ।

सङ्घीयताप्रति चौतर्फी आक्राेश छ, यो आक्राेशलाई कम गर्न र सङ्घीयता बलियो बनाउन के गरिरहनुभएको छ ?

यसमा प्रदेश सरकारको सुशासनको पाटोमा, बजेट विनियोजन, कार्यान्वयनको पक्षमा र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा प्रदेश सरकार इमानदारीपूर्वक अगाडि बढ्नु पर्छ । सङ्घीयतामा पनि खास गरेर प्रदेशले केही गर्न सकेन भन्ने सवाल उठिरहेका छन् । त्यसमा भने मेरो विमति छ । अहिले प्रदेश सरकार भएका कारण नै जनताले प्रत्यक्ष रूपमा सुनाउन पाउने र समाधान गराउने काम भइरहेको छ । सङ्घीय सरकारसँग पहुँच नभएका व्यक्तिले प्रदेश सरकारसँग पुगेर गुनासो गर्न पाएका छन् । व्यक्तिगत गुनासो तथा सामाजिक गुनासाको सम्बोधन प्रदेश सरकारले गरेको छ । केही अधिकार प्रदेश सरकारलाई सङ्घीय सरकारले नदिएकै कारणले प्रदेशमाथि गुनासो बढेको हो । संविधानले दिएका अधिकारलाई कानुन बनाएर प्रदेशलाई थप क्रियाशील बनाई काम गराउन सकिन्छ । त्यसो हुन सके जनताको विश्वास अझ बढेर जाने हुनाले अविलम्ब गर्न जरुरी छ । 

अघिल्लो प्रदेश सभाले प्रदेश राजधानी तोकेको छ वर्ष भइसक्दा पनि भौतिक संरचना बन्न सकेका छैनन् । राजधानीको निर्णय कार्यान्वयन सम्बन्धमा के गर्दै हुनुहुन्छ ?

प्रदेश राजधानीका लागि ठाउँ त तोकिएकै छ तर त्यसका लागि सङ्घीय सरकारले सहयोग गरेको देखिँदैन । गोदावरी जङ्गल क्षेत्र भएको ठाउँमा हामीले राजधानी घोषणा ग¥यौँ । त्यसमा केही कानुनी पाटो सुल्झाउनुपर्ने छ । यसका लागि सङ्घीय सरकारले ध्यान नदिएको र प्रक्रिया पनि अगाडि नबढाएकाले केही विवादित देखिएको छ । यसको समाधानका लागि हामीले छलफल गरिरहेका छौँ । अहिले सदन नचलेकाले पनि यसका बारेमा छलफल हुन सकेको छैन । सदन चल्नेबित्तिकै यस विषयमा छलफल हुन्छ । 

तिकुनिया (टीकापुर) ताक्लाकोट सुदूरपश्चिमवासीको सपना हो । पश्चिम सेती जलविद्युत् आयोजनाको कुरा उठेको पनि पाँच दशक पुगिसक्यो । यी दुई योजना कार्यान्वयन गराउन प्रदेश सरकारले के कस्तो पहल गरिरहेको छ ? 

पश्चिम सेतीका बारेमा डिपिआर बनिसकेको छ । अब यसमा लगानी कताबाट जुटाउने, सरकारले कति गर्ने, कम्पनीले कति गर्ने आदिका बारेमा छलफल भइरहेका छन् । यस विषयमा केही न केही टुङ्गो लाग्छ भन्ने मैले विश्वास लिएको छु । ताक्लाकोट नाका र पश्चिम सेतीका बारेमा मैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छु । यी विषयमा सङ्घीय सरकार गम्भीर हुनु पर्छ । 

तपाईंले दोस्रो पटक मुख्यमन्त्री हुँदा गरेका चारबुँदे घोषणा के कति लागु भएका छन् ?

मैले गरेका चार वटा प्रतिबद्धतामा शतप्रतिशत सफलता नपाए पनि मैले ५० प्रतिशत सफता पाए जस्तो लाग्छ । यसलाई अझै बढी सफल बनाउनेतर्फ लागिपरेको छु । सुशासन कायम गर्न सबैले सहयोग गर्नु पर्छ । गत वर्ष मैले बजेट प्रस्तुत गर्दै गर्दा केही व्यक्तिले असहयोग गरे । बुझेर पनि बुझ पचाएका छन् । यस पटक बजेट निर्माण प्रक्रियामा गत वर्षको प्रतिबद्धतासँगै केही थप सुधारका विषय पनि छलफल गरेर ल्याउने पहल हुन्छ ।