महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) सुदूरपश्चिमको समृद्धिको सपनासँग जोडिएको निर्माणाधीन राष्ट्रिय राजमार्ग हो । छिमेकी मुलुक भारत र चीनसँग नाका जोड्ने महत्वपूर्ण रणनीतिक सडक योजना महाकाली कोरिडोर अन्तर्गत विभिन्न खण्डमा काम भइरहेको छ । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको टिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने लक्ष्यका साथ २०६६ सालमा निर्माण सुरु भएको यो सडकको कार्य प्रगति भने सन्तोषजनक छैन ।
त्रिदेशीय नाका जोड्ने यो सडकले सामरिक महìव बोकेको छ । त्रिदेशीय व्यापार विस्तार, कैलाश मानसरोवर दर्शनलगायत धार्मिक पर्यटन प्रवर्धनमा समेत यो सडक अत्यावश्यक मानिएको छ । सुदूरपश्चिमको समग्र विकासमा कोसेढुङ्गाका रूपमा यो सडक योजनालाई लिइएको छ । कञ्चनपुरदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुला टिङ्करसम्मका करिब आठ लाख जनता लाभान्वित हुने यो सडकको लागत १८ अर्ब १६ करोड रुपियाँ अनुमान गरिएको महाकाली कोरिडोरका सूचना अधिकारी रामचन्द्र जैसीले बताउनुभयो । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको टिङ्करसम्म ४२५ किलोमिटर लम्बाइको यो सडक दार्चुलाको तुसरपानीसम्म ३३४ किलोमिटर सडक आयोजना कार्यालय र तुसरपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
बजेट अभावले कछुवा गतिमा
आर्थिक वर्ष २०८१/८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको महाकाली कोरिडोर निर्माण कार्यमा बजेट अभाव, विगतमा रुख काट्ने प्रक्रियामा अल्झन र ढिलासुस्तीका कारण डेढ दशक बित्दासमेत सन्तोषजनक प्रगति हुन सकेको छैन । १८ अर्ब १६ करोड रुपियाँ कुल लागत अनुमान गरिएको महाकाली कोरिडोरमा अहिलेसम्म दुई अर्ब ६७ करोड ९६ लाख १९ हजार ८८५ रुपियाँ मात्रै दायित्व सिर्जना भएको छ । दायित्व सिर्जना भएको रकममध्ये पनि एक अर्ब नौ करोड ५७ लाख ५८ हजार २४० रुपियाँ मात्रै भुक्तानी भएको महाकाली कोरिडोरका सूचना अधिकारी रामचन्द्र जैसीले बताउनुभयो । ठेक्का सम्झौता भएकोमध्ये एक अर्ब ५८ करोड ३८ लाख ६१ हजार ६४४ रुपियाँ दायित्व बाँकी रहेको छ ।
बजेट अभावमा हालसम्म कुल लागत अनुमानको करिब पाँच प्रतिशत मात्रै दायित्व सिर्जना भएको र त्यसमा पनि भुक्तानी बाँकी हुँदा गत वर्षसम्ममै पूरा गर्नुपर्ने महाकाली कोरिडोरको कार्यप्रगति निराशाजनक देखिन्छ । चालु आवमा ४१ करोड रुपियाँ मात्रै बजेट प्राप्त भएकोमा १७ करोड गत वर्षको पुरानो दायित्व तिर्नु परेको र बाँकी बजेट सकिएर अहिले काम रोकिएको सडक आयोजनाले जनाएको छ ।
कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पर्ने ११ किलोमिटर सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति गर्न बाँकी छ । डडेलधुरामा पर्ने ५८ किलोमिटर सडकमध्ये जोगबुढा क्षेत्रमा ३.४ किलोमिटर कालोपत्रे गरेर थप २८ किलोमिटर सडकको मात्रै ट्र्याक खुलेको छ । डडेलधुरामा बाँकी २६.६ किलोमिटर क्षेत्रमा ट्र्याक खुल्न सकेको छैन । त्यसै गरी बैतडीमा पर्ने १४४ किलोमिटर सडकमध्ये ११४ किलोमिटर ट्र्याक खुलाइएको छ भने १० किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । दार्चुलामा पर्ने २१२ किलोमिटर सडकमध्ये १२१ किलोमिटर सडक आयोजनाले र ७९ किलोमिटर नेपाली सेनाले निर्माण गरिरहेको छ । महाकाली कोरिडोरमा सडक आयोजनामार्फत काम भइरहेको ३३४ किलोमिटरमध्ये ५५.२ किलोमिटर अझै ट्र्याक खुलाउनसमेत बाँकी रहेको छ । बाँकी ४१.३ किलोमिटर क्षेत्र महाकाली राजमार्गमा पर्छ । हालसम्म महाकाली कोरिडोरको २१८.५ किलोमिटर क्षेत्रमा ठेक्का लागेकोमा ७२.५ किलोमिटर क्षेत्रमा ठेक्का लाग्न बाँकी रहेको र ७९ किलोमिटर नेपाली सेनाले निर्माण गरिरहेको महाकाली कोरिडोर आयोजनाका निमित्त प्रमुख इन्जिनियर दीपक सुनारले बताउनुभयो । सडक निर्माण गरिसक्ने समय सकिँदासमेत अधिकांश क्षेत्रमा बजेट अभावले ट्र्याक खुलाउने, ग्राभेल र कालोपत्रे गर्ने काम बाँकी रहेको छ ।
महाकाली कोरिडोर र दार्चुला टिङ्कर सडकमा बजेट थप्न राजनीतिक र प्रशासनिक नेतृत्वले पहल गरे पनि सरकारले उचित सम्बोधन गर्न सकेको छैन । आठ लाख जनताको सुविधा, आर्थिक, धार्मिक, सामाजिक विकास, राष्ट्रिय गौरव र समग्र सुदूरपश्चिमको समृद्धिको सपनासँग जोडिएको महाकाली कोरिडोरमा सरकारले पर्याप्त बजेट विनियोजन गरेर तीव्रताका साथ निर्माण गर्नुपर्ने संविधान सभा सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो । अर्बौं बजेट चाहिने सडकमा हरेक वर्ष केही करोड बजेट विनियोजन गरेर लक्ष्य प्राप्त हुन नसक्ने उहाँको भनाइ छ ।
महाकाली कोरिडोर र दार्चुला टिङ्कर सडकमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ छ । बजेट अभाव र प्रक्रियागत जटिलता, भौगोलिक कठिनाइका कारण अहिलेसम्म सन्तोषजनक काम नभएको स्विकार्दै उहाँले सुदूरको समृद्धिका लागि महाकाली कोरिडोर चाँडो निर्माण सम्पन्न गरिनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले चीनको सिमाना टिङ्करसम्म चाँडो सडक सञ्जाल विस्तार गरी महाकाली कोरिडोरलाई व्यापारिक नाकाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । अहिलेकै गतिमा निर्माण कार्य भए सडक योजना सम्पन्न गर्न अझै धेरै वर्ष लाग्ने देखिन्छ । कञ्चनपुरको ब्रह्मदेवदेखि महाकालीको किनारै किनार डडेलधुरा, बैतडी हुँदै दार्चुलाको टिङ्कर नाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा साबित हुने अपेक्षा लिए पनि निर्माणको गति सुस्त रहेको छ ।
नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नम्बर १ सम्म निर्माण हुने यस सडक योजनाबाट लाखौँ जनता लाभान्वित हुने दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुरसिंह बडालले बताउनुभयो । त्रिदेशीय नाका भएका कारण व्यापारिक महìव धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणका लागि छोटो बाटोका रूपमा प्रयोग हुने स्थानीय संस्कृतिका जानकार करविरबहादुर कार्कीले बताउनुभयो । सरकारले तराई क्षेत्रलाई पहाड र हिमालसँग जोड्ने र नेपाल, भारत र चीनसितको व्यापार विस्तारका लागि महाकाली कोरिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारे पनि बजेट विनियोजनका बेला प्राथमिकतामा नराख्दा ओझेलमा पर्ने गरेको छ ।
अठार अर्ब लाग्ने अनुमान
कुल १८ अर्ब लागत अनुमान गरिएको महाकाली कोरिडोरमा सरकारले हालसम्म साढे तीन अर्ब रुपियाँ मात्रै बजेट विनियोजन गरेको छ । अहिले पनि बजेट अभावमा कोरिडोरको काम रोकिएको सडक आयोजनाले जनाएको छ । यस आवको प्राप्त बजेट खर्च भइसकेको र काम गर्न असारसम्म थप ३० करोड बजेट आवश्यक हुने अनुमान गरिएको महाकाली कोरिडोरका सूचना अधिकारी रामचन्द्र जैसीले जानकारी दिनुभयो ।
महाकाली कोरिडोर अन्तर्गत नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडकखण्डमा पनि बजेट अभाव हुँदा सन्तोषजनक कार्य प्रगति हुन सकेको छैन । बजेट अभावमा सेनाले न्यून लक्ष्य राखेर काम गरिरहेको छ । ७९ किलोमिटर लामो यो सडकखण्डमा चालु वर्षमा एक किलोमिटर आठ सय मिटर मात्रै नयाँ ट्र्याक निर्माणको लक्ष्य राखिएको छ भने एक किलोमिटर दुई सय मिटर सडक चौडा बनाएर स्तरोन्नति गरिएको छ । सरकारबाट प्राप्त बजेट अनुसार लक्ष्य निर्धारण गरेर नेपाली सेनाले टिङ्कर सडकमा काम गरिरहेको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले बताउनुभयो ।
कैलाश मानसरोवरका लागि टिङ्कर सडक
दार्चुलासहित सुदूरपश्चिमको आर्थिक, धार्मिक र पर्यटकीय विकासको आधार मानिएको महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक कैलाश मानसरोवर तीर्थको प्रवेशद्वार पनि हो । टिङ्कर सडक निर्माणपछि धर्मावलम्बीको आस्थाको धरोहर कैलाश मानसरोवर यात्रा छोटो र सहज हुने अपेक्षा गरिएको छ । धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रूपमा परिचित छ । महाकाली कोरिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथधाम, डडेलधुराको परशुरामधाम, बैतडीको त्रिपुरासुन्दरी र दार्चुलाको मालिकार्जुनधाम हुँदै चौलानी र महाकालीमा स्थान गर्दै कैलाश मानसरोवर पुग्न सकिने भएकाले महाकाली कोरिडोर निर्माणपछि यहाँका धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने व्यासका स्थानीयसमेत रहनुभएका पूर्वप्रदेश सभा सदस्य गेल्बुसिंह बोहोराले बताउनुभयो । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रसम्म पुग्न पनि कोरिडोर निर्माणपछि सहज हुने छ ।