यज्ञप्रसाद सापकोटा
बर्दिया, वैशाख २३ गते । भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा पाँच महिना बितिसक्दा समेत फर्किएका छैनन् । आहारा र उचित वासस्थानको खोजीमा भारत पुगेको गैँडा नफर्किँदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गैँडाको उचित वासस्थान घट्दै गएपछि करिब २० ओटा गैँडा भारत तर्फ गएका हुन् । भारतीय पक्षले नेपालका गैँडा भारतमा आएको बताएपछि अनुगमन गर्दा गैँडा भारत गएको पुष्टि भएको थियो । नेपालमा वासस्थान अभाव भएकोले उचित वासस्थानको खोजीमा गैँडा भारत पुगेको संरक्षणकर्मीहरूको भनाइ छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानी सुकेको छ । नदी सुकेपछि निकुञ्ज नै सुख्खाग्रस्त बन्दै गएको छ । गैँडालाई बस्नको लागि प्राकृतिक घोल खोला, नदी र घाँसे मैदानको आवश्यकता पर्दछ । निकुञ्जभित्र भएका प्राकृतिक नाला सुक्दै गएको हुनाले कृत्रिम पोखरी निकुञ्जले बनाउँदै गएको छ । हाल निकुञ्ज भित्र एक सय ८२ ओटा पानी पोखरी निर्माण गरिएको छ ।
निकुञ्जले गेरुवा नदीको लालमाटी क्षेत्रमा थुप्रिएको नदीजन्य पदार्थ खोतलेर नहर बनाइ पानी ल्याएको छ । पानी ल्याए पछि गैँडा फर्कन्छन् भन्ने अपेक्षा गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक कुमार रामले बताउनुभयो । ‘अहिले केही गैँडा फर्केको अनुमान गरेका छौँ ।’ उहाँले भन्नु भयो यस वर्षको गैँडा गणना रोकिएको हुनाले यकिनका साथ भन्न सकिँदैन ।’ नदीमा अझै पनि पर्याप्त पानी नभएको बताउँदै उहाँले निकुञ्जले करिब ६५ लाख खर्चेर लालमाटी क्षेत्रको ढुङ्गा गिट्टी बालुवा हटाई पानी ल्याएका बताउनुभयो । हरेक वर्ष यसरी नै पानी ल्याउने गरेको उहाँले बताउनुभयो । भारत गएका गैँडालाई नेपाल तर्फ फर्किउन भनेर वासस्थान सुधारका कामहरू गरिरहेको उहाँले बताउनुभयो ।
सन् २०२१ मा गरिएको गैँडा गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैँडा थिए । यस अवधिमा बाघको आक्रमण र प्राकृतिक कारणले तीन वटा गैँडा मरेका छन् । यस वर्ष गर्ने भनिएको गैँडा गणना आर्थिक अभावका कारण रोकिएको छ । गैँडा गणना रोकिएपछि बर्दियामा हाल कति गैँडा छन् भन्ने यकिन नभएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताउनुभयो । उहाँले गणना नभए पनि अनुगमनबाट भारत तर्फ गएको पुष्टि भएको उहाँले बताउनुभयो ।
बर्दियामा सन् १९८६मा चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गरिएको थियो । तत्पश्चात् पटक पटक गरी बर्दियामा ५५ वटा पोथी र ४५ वटा भाले गैँडा बर्दियामा स्थानान्तरण गरिएको थियो । ती मध्ये चोरीशिकारबाट ३६ र प्राकृतिक कारण २४ ओटा गैँडा मरेका थिए । विगत १५ वर्ष यता बर्दियामा गैँडाको चोरीशिकार शून्य छ ।
सुरुमा खाता जैविक मार्ग हुँदै भारतीय सीमावर्ती क्षेत्रमा गैँडा पुगेका थिए । भारतले गैँडाको लागि पानी पोखरी र घाँसे मैदान बनाएपछि नेपालका गैँडा भारततर्फ पुगेका हुन् । नेपालमा पानीको कमी हुनु र भारतमा कृत्रिम पोखरीको व्यवस्थापन गरी वासस्थान निर्माण गर्दा भारततर्फ गैँडा गएको संरक्षणकर्मी रामबहादुर शाहीले बताउनुभयो । नेपालमा वासस्थान सुधार नगरेमा बर्दिया राष्ट्रिय निकुञ्जका गैँडा भारततर्फ जाने उहाँले बताउनुभयो । उहाँले नेपालले स्थायी रूपमा पानीको अभाव हुन नदिनका लागि योजना बनाएर अगाड बढ्नुपर्ने बताउनुभयो ।