• २३ वैशाख २०८२, मङ्गलबार

सुस्तश्रवण भएकालाई रोजगारी पाउन समस्या

blog

गोदावरी समाचारदाता 

गोदावरी (कैलाली), वैशाख २३ गते ।  सुदूरपश्चिममा पहिलो पटक सुस्तश्रवण अपाङ्गताको समस्याबारे दुईदिने तालिम सम्पन्न भएको छ । तालिमका सहभागीले काम गर्ने योग्यता, सिप र जाँगर भए पनि सुस्तश्रवण (कम सुन्ने) भएकाले रोजगारी पाउन र रोजगारी पाए पनि टिकिरहन समस्या हुने गरेको गुनासो गरेका छन् । 

सुस्तश्रवण भएका व्यक्तिले राम्ररी कान नसुन्ने भएका कारण उनीहरूसँग घरपरिवारका व्यक्ति तथा समाजका व्यक्ति बोल्न नखोज्ने, तिनका कुरा नबुझेर सोधेमा रिसाउने, झर्किने गरेका पाइन्छ । त्यसै गरेर उनीहरूले राम्ररी सुन्न नसकेका कारण विद्यालय तथा उच्चस्तरको शिक्षा लिन पनि समस्या भोग्नु परेको छ । 

सुस्तश्रवण भएकै कारण विद्यालयस्तरको शिक्षा लिनमा कठिनाइ भएपछि आफूले चाहेर पनि शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेको कैलालीको कैलारीकी नीलम चौधरीको गुनासो थियो । यस्तो अवस्थामा आफूले शैक्षिक योग्यता प्राप्त गर्न नसकेको र चाहे अनुसारको रोजगारीमा सहभागिता हुन पनि कठिनाइ भइरहेको उहाँको भनाइ थियो । 

यस्तै समस्याले आफू काम गर्दै रहेको होटेलबाट निकालिएको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका परिवर्तन कोइरालाले गुनासो गर्नुभयो । उहाँ धनगढीकै एक प्रख्यात होटेलमा वेटरका रूपमा काम गर्नुहुन्थ्यो । काम गर्ने योग्यता, सिप र जाँगर भए पनि सुस्तश्रवण (कम सुन्ने) भएकाले रोजगारी पाउन र रोजगारी पाए पनि टिकिरहन समस्या हुने गरेको उहाँको भनाइ थियो ।

अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गताको परिभाषामा समावेश गरेको परिभाषा अनुसार सुन्नका लागि श्रवणयन्त्र प्रयोग गर्नुपर्ने वा ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई सुस्तश्रवण अपाङ्गता भनिएको छ । 

सुस्तश्रवण अपाङ्गता भएका व्यक्तिमा पनि कतिपयलाई श्रवणयन्त्र, साङ्केतिक भाषा तथा ‘क्याप्सनिङ’ को आवश्यकता हुन्छ । ‘क्याप्सनिङ’ भनेको अरूले भनेको कुरालाई कम्प्युटरमा लेखेर अगाडि स्क्रिनमा देखाउनु हो तर समाजमा सर्वसुलभ रूपमा यस्ता व्यवस्थाको विकास हुन नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घकी केन्द्रीय सदस्यसमेत रहेकी संस्थाका अध्यक्ष भट्टराईले बताउनुभयो । 

बहिरा सङ्घ कैलाली र राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशको समन्वयमा यस्तो समस्यामा भएकाको समूह गठन गरिएको अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव नरदीप धामीले जानकारी दिनुभयो । उहाँका अनुसार परिवर्तन कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समूह गठन गरिएको छ ।