काठमाडौं, वैशाख २२ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै यस्तो विचार व्यक्त गर्नुभएको हो ।
उहाँले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको खिलाफमा प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो । सभापति देउवाले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृत,जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैँ मजबुत रहेको बताउनु भयो । पारस्परिक सहकार्य, अन्तर्राष्ट्रिय सम्बन्धहरुमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो । दुई मुलुकबीच समानता, पारस्परिक हित, शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ । आजको यस फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै मुलुकको सम्बन्धलाई थप उचाइमा लैजाने विश्वास लिएको छु । दुई देश बीचको सांस्कृतिक, शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनुका साथै दुई देशको जनताबीच आपसी सहकार्यको भावना थप बलियो बनाउने छ । नेपालको राजनीतिक पोलिसी र चाइना पोलिसी नेपालले लिएको छ । मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु ।’’
सभापति देउवाले परापूर्वकालदेखि नै नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको बताउनु भयो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले नेपालको विकास प्रयासमा चीन सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै द्विपक्षीय हितका लागि मिलेर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला तथा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको आयोजना गरिएको थियो ।