काठमाडौँ, वैशाख २२ गते। गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ द्वारा ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार २०८१’ ब्रम्हदेव महतो र राजेन्द्रप्रसाद उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ।
गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ का अध्यक्ष सचु सेनका अनुसार गोरखापत्र प्रकाशनको एक सय २५ औँ वार्षिकोत्सव एवम् संस्थानको ६३ औँ वर्ष प्रवेशको अवसरमा सो पुरस्कार महतो र उपाध्यायलाई दिने निर्णय गरिएको हो।
महतोको जन्म मिति २०२४ साल माघ ४ गते आमा आशादेवी महतो र बाबु जयराम महतोका सुपुत्रका रुपमा भएको थियो। उहाँ २०५० चैत १९ गते संस्थानमा सेवारत हुनुहुन्छ।
उहाँले प्रशासन सेवा, लेखा सेवामा लामो समय सेवा गर्नुभएको छ भने हाल दर्ता शाखामा कार्यरत हुनुहुन्छ।
यसैगरी, उपााध्यायको जन्म मिति २०२७ साल माघ ६ गते आमा सावित्रि उपाध्याय र बाबु भरतप्रसाद उपाध्यायका सुपुत्रका रुपमा भएको थियो।
उपाध्याय २०४६ साल चैत १० गते संस्थानको सेवामा प्रवेश गर्नुभएको हो। उहाँले प्रशासन सेवामा रहेर लामो समयदेखि संस्थानका कार्यकारी अध्यक्षको सचिवालयमा रहेर काम गर्दै आउनुभएको छ।