रवीन्द्र उप्रेती
बर्दीबास, वैशाख २२ गते । सडका मार्गमा व्याप्त एकपछि अर्को समस्याले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) को कामले अपेक्षित गति लिन सकेको छैन ।
धनुषाको कमलादेखि सर्लाहीको बागमतीसम्म ७४.७५ किलोमिटर लम्बाइको पूर्वी खण्ड सन् २०२५ को जनवरी १ तारिखदेखि स्तरोन्नतिको चरणमा प्रवेश गरिसकेको छ । विश्व बैँकको १८ अर्ब ६० करोड ऋण सहयोगमा निर्माणाधीन यस खण्डका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोश्रो र तेश्रोमा पर्ने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्सट्रकसन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले ठेक्का सम्झौता गरिसकेको छ ।
यी ठेकेदार कम्पनीहरूले कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी ३ ठाउँबाट एकै साथ स्तरोन्नतीका काम सुरु गरि सकेका छन् । काम सुरु गरे पनि पाइलैपिच्छे आइलागेका बाधाअवरोध र भद्रगोल अवस्थाले ठेकेदार कम्पनीहरूले पूर्ण क्षमतामा काम गर्ने अवस्था नभएको दुखेसो गर्दै आएका छन् । अहिले २ लेनको पूर्वपश्चिम राजमागलाई एशियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ५० मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित २७ मिटर चौडाईको ४ लेनमा स्तारोन्नती गर्नु पर्ने भएकोले सडक क्षेत्राधिकारमा अनेकन बाधा अडचन देखा परेको हो ।
गौरीडाँडास्थित कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का अनुसार यस खण्डमा सडक अतिक्रमण गरि बनाइएका संरचना विस्तापित गर्नु टाउको दुखाई बनेको छ । अर्कोतर्फ सडक दायाँबायाँ रहेका रुखबिरुवा र विद्युत् पोल व्यवस्थापन उत्तिकै झन्झटिलो र पेंचिलो बनेको छ ।
पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलका अनुसार कमलादेखि पश्चिम बाराको पथलैयासम्म सडक दायाँबायाँ र पर्सा राष्ट्रिय निकुञ्जसम्मका गरी पैंतीस हजार ७१२ थान त विभिन्न प्रजातिका रुखहरू नै हटाउनु पर्छ । अर्कोतर्फ यही खण्डमा दुई हजार २२ वटा विद्युत् पोल विस्थापन विस्थापन अर्को समस्या छ ।
वन र विद्युतले रुख काटने र पोल सार्ने प्रक्रिया सुरु गरी सकिएकोे दाबी गर्दै आएका छन् । तथापि पेंचिलो कानुनी प्रक्रियाले यी समस्या कहिलेसम्म समाधान भइसक्ने हो ? अनिश्चित छ । मधेश प्रदेशका प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले राजमार्ग छेउका रुख कटानको प्रक्रिया डिभिजन वन कार्यालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगि सकेको बताउनुभयो ।
रुख कटानको प्रकृया २ वर्षअघिदेखि सुरु भए पनि अन्तिम अवस्थामा आएर वातावरणीय प्रभाव मूल्याङ्ककन र प्रदेशबाट पठाइएका रेकर्डमा रुख सङ्ख्या फरक पर्दा मन्त्रालयले अझै कटान आदेश सदर गरेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कनले गरेको गणनाअनुसार २ वर्षअघि राजमार्गको यो खण्डमा रुखको सङ्ख्या २८ हजार १२० वटा रुख मात्र कटान गर्नु पर्ने उल्लेख छ । यता वन डिभिजनहरुले गरेको पछिल्लो गणनाअनुसार कटान गर्नु पर्ने रुखको सङ्ख्या पैतीस हजार ७१५ थान रहेको छ ।
वातावरण र डिभिजन वनको गणनामा सात हजार ५९५ रुख सङ्ख्या फरक परेपछि कटान आदेश आउन केही विलम्ब हुन गएको प्रदेश वन सचिव घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशले सवै दायित्व पूरा गरी फाइल विभागसम्म पुर्याइसकेको छ । कानुनी प्रक्रिया पूरा गर्न सडक आयोजना पनि सक्रिय रूपमा लागेकोले वर्षा अगावै कटान आदेश आउनेमा हामी आशावादी छौं ।’
अर्कोतर्फ मधेश विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख शम्भु कुशियत यादवले सडक आयोजनासँगको सहकार्यमा कमला पथलैया खण्डको राजमार्ग दायावायाँका विद्युत् पोल सार्न टेन्डर समेत लागि सकेको बताउनुभयो । उहाँका अनुसार रुख व्यवस्थापन गरे जस्तो एकभरले विद्युत् पोल सार्न प्राविधिक रूपले गाहृो छ । सडक निर्माण र पुल स्थानातरण ‘साइड वाई साइड’ काम गर्नु पर्ने उहाँको भनाइ छ ।
यादवले भन्नुभयो, ‘फेरि पनि हामीले पुल भएका ठाउँमा पोल सार्ने काम सकिएको छ । सडक छेउका पोल तत्काल सार्दा पछि सडक अग्लो र पोल होचो भएर दुर्घटनाका कारण बन्न सक्छ । नाला लगायतका संरचनामा पोल पर्न सक्ने हुँदा पछि विवाद र झन्झट नपरोरस भनेर सडक निर्माण र पोल सार्ने काम ‘साइड वाई साइड’ गरौं भन्ने हाम्रो आग्रह हो ।’
ठेकेदार कम्पनी इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाका सचिन सुवेदी र चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्सट्रकसन कम्पनी आरसिसी ज्वाईन्ट भेन्चरका सुवोध रिजालले अहिले पुल र कजवैका काम भइरहेकाले यी नसार्दा पनि तत्काल खासै समस्या नदेखिएको बताउनुभयो । सडक छेउका रुखहरू ठेकेदार कम्पनीले नै कटान गरि डिभिजन वनले देखाएको ठाँउमा घाटगद्दी पनि गरी दिनुपर्छ । मनसुन लाग्न केही समय मात्र बाँकी छ । वर्षाको बेला कटान आदेश आयो भने के गर्ने ? त्यो पनि समस्या छ ।
उहाँहरूले भन्नुभयो, ‘अहिले त हामी पुल निर्माणमा लागेका छौं । आगामी सन् २०२७ सम्म निर्माण सम्पन्न भई सक्नु पर्ने यस आयोजनाको उल्टो गन्ती (काउन्ट डाउन) सुरु भइसकेको छ । रुख, पोल र सडक छेउका संरचनाहरू व्यवस्थापन नगरे वर्षापछि निर्माण कामलाई कसरी निरंतरता दिने ? असमञ्जसमा पारेको छ ।’