• २२ वैशाख २०८२, सोमबार

घरेलु मैदानमा पुर्व कप्तान निरुले पाएको सम्मान

blog

सम्मानित भएपछि पुर्व कप्तान निरु थापा । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, वैशाख २२ गते । खेल करियरमा राष्ट्रिय टोलीबाट खेल्ने लक्ष्य धेरै खेलाडीको हुन्छ । तर त्यो लक्ष्य सबैलले हासिल गर्न सक्दैनन् । राष्ट्रिय टोलीमा परेका सबै खेलाडीले टोलीको कप्तानीको अवसर पनि पाउँदैनन् । 

राष्ट्रिय टोलीको कप्तानी गर्नु थप अर्को इतिहास बन्ने गर्छ । नेपाली महिला फुटबलमा त्यस्तै इतिहास बनाउने खेलाडी हुनुहुन्छ, निरु थापा । नेपाली महिला फुटबल टिमकी पुर्व कप्तान निरुका लागि गएको साता  विशेष रहयो । आफु जन्मेको र खेल्न सुरु गरेको नेपालगन्ज रङ्गशालामा निरुलाई भव्य सम्मान गरियो ।

बाँके जिल्लाहुँदै राष्ट्रिय टोलीको  कप्तानी गरेर नयाँ खेलाडीको प्रेरणा बनेको कारण बाँके जिल्ला फुटबल सङ्घले निरुलाई हजारौं दर्शकका माझ रङ्गशालाको मैदानमा सम्मान गरेको थियो । 

बाँकेको जानकी गाउँपालिका वडा नम्बर १, शिवपुरी गाउँमा जन्मिएर नेपालगन्ज रङ्गशालाबाट फुटबल करियर थाल्नुभएकी निरु अहिले नेपाली फुटबलमा चिनाइरहनु पर्ने नाम होइन । 

देशकै प्रतिष्ठित विभागीय टोली नेपाल पुलिस क्लबकी कप्तान निरुले राष्ट्रिय टिमकै कप्तान भएर नेपाली फुटबलको नेतृत्व गरिसक्नुभएको छ । उहाँले ४५ अन्तर्राष्ट्रिय क्याप जित्दै ११ गोल गर्नुभएको थियो । दुई दशकभन्दा लामो समयदेखि नेपाली फुटबलमा समर्पित भइरहँदा ११ अन्तर्राष्ट्रिय गोल गरेर राष्ट्रिय गौरव स्थापनामा ठुलो योगदान गर्नुभएकी  निरु समग्र नेपाली खेलकुदकै शिर उँचो बनाउने खेलाडी हुनुहुन्छ ।

नेपाल पुलिस क्लब तथा राष्ट्रिय टिमबाट देश तथा विदेशका विभिन्न मैदानमा डटेर नेपाली जातिकै लागि थुप्रै गौरवगाथा रचेपनि निरुका लागि नेपालगन्जको यो मैदान विशेष छ । किनकि उहाँलाई फुटबल खेलाडीको रूपमा जन्म दिने ‘आमा’ यही मैदान हो । यही मैदानको काखबाट उहाँले फुटबलमा बामे सर्न थाल्नुभएको हो । 


नेपालगन्ज मैदानबाट उठ्नुभएकी निरुले नेपाल पुलिस क्लब र राष्ट्रिय टिमका लागि थुप्रै योगदान गरेर नेपालगन्जले आफूलाई लगाएको गुनको भार तिरिसक्नुभएको छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्ने क्रममा नेपालगन्ज र बाँकेलाई सँगै काँधमा बोकेर हिँड्नुभएकी निरुको गुन पनि नेपालगन्जले कसरी बिर्सन सक्थ्यो र ?

हो, पूरा जीवन फुटबलमा समर्पित भएर गरेको योगदानको कदरस्वरूप नेपालगन्जवासीबाट लुम्बिनी कप फाइनल दौरान आफू हुर्किएकै रङ्गशालामा निरुले भव्य सम्मान थाप्नुभयो । बाँके जिल्ला फुटबल सङ्घको अगुवाइमा भएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य भोजराज शाही लगायतले सम्मानसहित २५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो । जहाँ ४० डिग्रीको प्रचण्ड गर्मीलाई बेवास्था गर्दै निरुको सम्मानका लागि रङ्गशालाको प्यारापिटमा हजारौं दर्शक खचाखच थिए । 

फाइनलमा उपाधिका लागि आमनेसामने हुने तयारीमा रहेका नेपाल पुलिस र नेपाल एपिएफ क्लबका खेलाडीको ‘गार्ड अफ अनर’ बीच हाल सक्रिय सबै नेपाली महिला खेलाडीकी आदरणीय दिदी निरु सम्मानित हुनुभयो । जहाँ प्यारापिटमा उपस्थित हजारौं दर्शकले दिएको स्ट्यान्डिङ ओभिएसनले माहोललाई थप भावुक बनाएको थियो ।

राष्ट्रिय टोलीबाट एक दशक खेल्नुभएकी पुलिस क्लबकी कप्तान निरुबाट विभागीय टोलीका लागि भएका गोलको हिसाबकिताब महिला फुटबल पछ्याउने समर्थकले राम्रैसँग राखेका छन् । राष्ट्रिय टोलीका लागि नै पूर्व कप्तान निरुले ११ अन्तर्राष्ट्रिय गोल गरिसकनुभएको छ । नेपाली महिला फुटबलमा झन्डै दुई दशक बिताइसक्नुभएकी फरवार्ड निरुले आफ्नो व्यावसायिक करियरमा थुप्रै रङ्गशालामा आफ्नो कौशल प्रस्तुत गर्नुभएको छ । 

तर, वैशाख १२ गते सम्पन्न लुम्बिनी कप उहाँका लागि केही खास थियो । निरुले आफ्नो जन्मथलो नेपालगन्जमा पहिलो पटक यही प्रतियोगितामार्फत कुनै ठुलो खेल खेल्नुभएको थियो । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा निरुको कप्तानीमा रहेको पुलिसले नेपालगन्ज रङ्गशालामा भारतको सिलिगुढी एफसीसँग खेल्दै यात्रा थालेको थियो ।

जहाँ निरु आफैंले एक गोल गर्दा टोली ४–० को जितसहित सेमिफाइनल पुग्यो । सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबविरुद्धको कठिन खेलमा पनि निरुको पुलिसले जित हासिल गर्‍यो । निर्धारित समय १–१ को बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा पुलिसले जित हासिल गरेको थियो । जहाँ ९ पेनाल्टीसम्म पुगेर सडनडेथमा आर्मीलाई निरास पार्दै पुलिसले एपिएफविरुद्धको फाइनल यात्रा तय गरेको हो । 

‘नेपालगन्ज रङ्गशालामा पहिलो खेलका लागि मैदान प्रवेश गर्दा निकै खुसी लागेको थियो । खुसीभन्दा पनि बढी करियरको उत्तरार्धमा आइपुगेपछि आफ्नै ठाउँमा खेल्न पाएकोमा भावुक भएँ । अझ खेल जितेपछि त्यो खुसी र भावना झनै बढ्दोरहेछ,’ निरु मुस्कुराउनुभयो, ‘आफ्नै जन्मथलोमा पहिलो पटक यति ठुलो प्रतियोगिता भयो । 

आफ्नो टिम फाइनल पुग्यो अनि फाइनलमा बाक्लो सङ्ख्यामा दर्शकबिच आफैलाई हुर्काएको मैदानमा सम्मान पाउँदा बल्ल मैले नेपाली फुटबलका लागि केही गरेको रहेछु । बाँके र नेपालगन्जको प्रतिनिधित्व गर्दै केही योगदान गरेको रहेछु भन्ने महसुस भयो । यो मेरा लागि निकै विशेष र भावुक क्षण बन्यो ।’

निरुलाई २०६८ सालतिर नेपाल पुलिसले करारमा क्लबमा अनुबन्ध गरेको थियो । अहिले निरु पुलिस करियरको १५औं वर्षमा हुनुहुन्छ । पुलिसमा आउनुअघि नै निरुले राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । निरुले सन् २०१० मा बङ्गलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद (साग)बाट राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय करियर थाल्नुभएको थियो । उहाँले ९ वर्ष राष्ट्रिय टोलीको जर्सी लगाउनुभयो । संयोग, उहाँले घरेलु भूमिमा भएको १३औं सागबाटै अन्तर्राष्ट्रिय करियरबाट सन्न्यास लिनुभयो । 

यसबिच निरुले देशका लागि स्वर्ण पदक जित्ने सपना भने पूरा गर्न सक्नुभएन । निरुले २०७५ सालमा चीनसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक कप्तानको आर्मब्यान्ड लगाउनुभएको थियो । निरुले भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकप २०१९, सोही वर्ष विराटनगरमा भएको पाँचौं साफ च्याम्पियनसिप र पोखरामा सम्पन्न १३औं सागमा राष्ट्रिय टोलीको नेतृत्व गर्नुभयो । 

यो नौ वर्षको अन्तरालमा उहाँले आधा दर्जनभन्दा बढी फाइनल खेल्नुभयो । तर, दुर्भाग्यवश कुनैपनि फाइनलमा नतिजा नेपालको पक्षमा आएन । १३औं सागमा सन्न्यास लिएपछि निरु भक्कानिएको क्षण अझै पनि फुटबलप्रेमीको मानसपटलमा ताजै छ ।

उमेरले निरु आउने भदौमा ३५ वर्षमा लाग्दै हुनुहुन्छ । करियरको उत्तरार्धमा रहनुभएकी निरु  सन्न्यासअघि आफ्नो जन्मथलोमा एक न एक दिन खेल्न पाउनेमा आशावादी हुनुहुन्थ्यो । सपना पूरा भएकोमा निरु हर्षित हुनुहुन्छ । शुक्रबार फाइनल सकिएलगत्तै उहाँले भन्नुभयो, ‘मैले आफ्नो करियरमा विभिन्न जिल्ला गएर खेलें । नेपालगन्जमा पनि फुटबल प्रतियोगिता होस् भन्ने चाहन्थें । त्यसैले प्रतियोगिताका लागि गुरुहरूलाई आग्रह गर्थें । आज मेरा लागि विशेष दिन हो । मैले आज आफ्नो सपना पूरा गरें । निकै खुसी छु ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठुलो सफलता हासिल गर्ने जग हाल्ने क्रममा बाँकेमा नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने नेतृत्वमा पर्नुहुन्छ बाँके जिल्ला फुटबल सङ्घका वर्तमान अध्यक्ष भोजराज शाहीले । अहिले करियरको उत्तरार्धमा आफूलाई हुर्काउने त्यही मैदान अनि तिनै अभिभावकबाट सम्मानित हुन पाउँदा थप गौरवान्वित भएको निरुले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘जहाँ मैले फुटबल खेल्न सुरु गरें, त्यही मैदानमा अनि जसले मलाई फुटबल खेलाउन सुरु गर्नुभयो । उहाँबाटै सम्मानित हुँदा निकै गौरव महसुस भएको छ । आफुले खेल्न सुरु गरेको मैदानमा सम्मान पाउनु गर्वको कुरा हो ।’