• २२ वैशाख २०८२, सोमबार

विद्यार्थी पन्यूले डामेपछि प्रिन्सिपललाई बर्खास्त

blog

पन्युले गालामा डाम्दा सख्त घाइते भएका बालक । तस्बिर: गोरखापत्र

अमरराज नहर्की

तनहुँ, वैशाख २२ गते । तनहुँको भीमाद नगरपालिकाले वडा नम्बर–६ को भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णदेव श्रेष्ठलाई बर्खास्त  गरेको छ । बालमैत्री वातावरणमा पठन पाठन गर्न नसकेकोले बर्खास्त गरिएको नगरपालिकाले जनाएको छ ।

 सो विद्यालयमा अध्ययन गर्ने तीन बालकलाई करिब तीन महिना अघि शिक्षिकाले पन्यूले डामेपछि गठित छानबिन समितिको सिफारिसको आधारमा प्रिन्सिपललाई  हालै हटाइएको भिमाद नगरपालिकाका प्रमुख दधिराध सुवेदीले जानकारी दिनुभयो । यातना दिने शिक्षिकाको तनहुँ जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकोले उनीहरूको बारेमा निर्णय नगरिएको सुवेदीले बताउनुभयो । नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘बालमैत्री वातावरण बनाउन प्रिन्सिपलले नसकेकोले शिक्षकबाट विद्यार्थीले यातना पाएको छानबिन समितिले जनाएकोले कारबाही गरेका हौँ ।’ 

विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न नगरपालिकाद्धारा उपसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधी सहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो ।  शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीन बालकलाई पन्यूले डामेपछि सख्त घाइते भएका थिए । माघ २९ गते तातो पन्युले डामे पछि तीनै जना घाइते हुनु भएको थियो । सो घटनाकी आरोपित शिक्षिका श्रेष्ठलाई प्रहरीले माघ ३० गते बिहान गिरफ्तार गरेको थियो ।  यातना दिने शिक्षिका श्रेष्ठ धरौटीमा रिहा हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार  शिक्षिका श्रेष्ठ एक लाख २० हजार रुपियाँ धरौटीमा रिहा हुनु भएको हो । पन्यु तताउन सहयोग गर्ने सोही विद्यालयमा कार्यरत कमला राना ६० हजार धरौटीमा बिहीबार रिहा हुनु भएको छ । विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै शिक्षिका श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्ययनरत तीन बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए ।

घटनामा कक्षा ४ मा पढ्ने प्रमिस परियार लगायत तीन जना घाइते भएका थिए । बालकका हजुर बुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूको फोटो सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्नुभएको थियो ।  सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो ।