• २२ वैशाख २०८२, सोमबार

वन कटानले बस्ती जोखिममा

blog

सत्ती कर्णाली सामुदायिक वन कटान गर्दै कर्णाली नदी । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता

टीकापुर, वैशाख २२ गते । ठेक्का लिएको कम्पनीले समयमा काम नगर्दा टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन निरन्तर कटान भइरहेको छ । ठेक्का पाएको कम्पनी हाइग्रिवा–सिद्दिसाई–प्रकाश जेभीले तीन वर्षसम्म तटबन्ध बनाउन नदी किनार खोतल्ने तर काम नगर्दा नदी जङ्गलतिर पस्दै गएको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी कटान नियन्त्रण गर्न २०७२ चैतमा हाइग्रिवा–सिद्धिसाई–प्रकाश जेभी सामाखुसीसँग सम्झौता गरी तटबन्धको ठेक्का लगाएको थियो । सुरुका वर्षमा नदी कटान विस्तारै भए पनि पछिल्ला तीन वर्षयता कटान तीव्र बनाएको छ । २५ बिघाभन्दा बढी जङ्गल बगिसकेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी बताउनुहुन्छ । 

विगतदेखि काट्दै आएको थियो, यो वर्षयता मात्रै १० बिघा जङ्गल काट्यो,  अध्यक्ष जितराम चौधरी भन्नुहुन्छ, “आउँदो बर्खामा बेतको जङ्गलसहित टीकापुर नगरपालिकाको वडा नम्बर ८ जोखिममा छ ।”

गत वर्ष नदी गाउँ पस्ने खतरा भएपछि सामुदायिक वनको २० लाख र नगरपालिकाको २० लाख गरी ४० लाख लगानीमा बोल्डर खसालेर रोकिएको थियो । यस वर्ष पनि रोकथामका लागि बोल्डर हालिदिन सिँचाइ मन्त्रालय र टीकापुर नगरपालिकालाई गुहार मागेको तर निर्णय नआएको अध्यक्ष चौधरीको भनाइ छ । 

ठेक्का पाएको कम्पनीले काम नगरी छोडेकाले कालो सूचीमा राखी कारबाही गरिएको र लागत योजना तयार गरी आव २०८२/८३ का लागि बजेट प्रस्ताव गरेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी नवीन पौड्यालले जानकारी दिनुभयो । 

कर्णालीको पानी कैलाली बर्दिया (गेरुवा) का दुवै भँगालोमा बराबर बाँडेर मजबुत तटबन्ध नबनाएसम्म यहाँका नागरिक चयनले सुत्न नपाउने स्थानीय डबल ठकुल्लाको भनाइ छ । पछिल्ला वर्ष कर्णाली कैलालीतिरको भँगालोमा मात्रै बगिरहेको छ ।