• २२ वैशाख २०८२, सोमबार

संस्कृति जोगाउन घोडा दौड

blog

वीरगन्ज (पर्सा), वैशाख २२ गते । वीरगन्जका प्राचीन कला र संस्कृति जोगाउन वीरगन्ज महानगर–१६, नगवामा घोडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबिच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो । 

ब्रह्म बाबा सञ्चालक सेवा समिति तथा बिपी कोइराला युवा नेतृत्व मञ्चको आयोजनामा भएको घोडा दौड प्रतियोगितामा छिमेकी मुलुक भारतको विहार राज्यका मोतीहारी, पश्चिम चम्पारण जिल्ला र नेपालका १६ घोडसवारबिच प्रतिस्पर्धा गराइएको थियो । समितिका अध्यक्ष प्रभु चौरसियाले दुवै मुलुकबिच दशकौँदेखि चल्दै आएको सद्भाव कायम गर्न प्रतियोगिताले ठुलो मद्दत पुर्‍याएको बताउनुभयो ।

घोडा दौड हेर्न उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको घुइँचो लागेको थियो ।  उहाँले भन्नुभयो, “दर्शकको घुइँचो र उत्साहले आगामी वर्षमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको छ ।”  प्रतियोगितामा भारतको मोतिहारीका विचारी यादवको घोडा पहिलो भएको छ । पहिलो हुनेलाई कुलर मेसिनले सम्मानित गरियो । त्यस्तै दोस्रो पुरस्कार मोतिहारीकै कोट्वाका मेनेजर ज्यादवको घोडाले प्राप्त गर्‍यो । त्यस्तै तेस्रो पुरस्कार पर्साको सिर्सियाका हरिशङ्कर सिंहको घोडाले प्राप्त गर्‍यो ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले लोपोन्मुख हुँदै गएको घोडा दौड प्रतियोगिताले नेपाल र भारतबिच मैत्रीपूर्ण भावनाको विकास गर्न सघाउ पुर्‍याएको बताउनुभयो । मन्त्री क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरका उपप्रमुख इम्तियाज आलमलगायतले विजेतालाई पुरस्कार वितरण गर्नुभयो ।