• २२ वैशाख २०८२, सोमबार

उत्कृष्ट उद्यमीलाई सम्मान

blog

तनहुँ समाचारदाता

तनहुँ, वैशाख २२ गते । तनहुँको म्याग्दे गाउँपालिकाले ४० उद्यमीलाई उत्कृष्ट सम्मान प्रदान गरेको छ । म्याग्दे गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम गण्डकी प्रदेशका अध्यक्ष जुनतारा बुढामगरले किसानलाई संयुक्त रूपमा माला लगाएर सम्मानपत्र प्रदान गर्नुभयो । 

ग्रामीणस्तरमा लघु तथा साना उद्यमको स्तरोन्नति गरी रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्यले कार्यक्रम सुरु गरिएको र त्यसका लागि १३९ जनाको निवेदन परेको ४० जना छनोट गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत छनोट गरिएको हो । 

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी कुल ७५ लाख रुपियाँको लागतका कार्यक्रम सुरु गरिएको हो । उद्यमशीलताको विकास गरी रोजगारी प्रवर्धन गर्न कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । छनोटमा परेका ४० जनामध्येबाट उत्कृष्ट १० जना उद्यमीलाई उद्यम प्रवर्धनका लागि आवश्यक सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  

कार्यक्रम अन्तर्गत उद्यमीहरूको छनोट, सशक्तीकरण, व्यावसायिकीकरण र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका र दायित्व संस्थाको त्रिपक्ष लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत पालिकाभित्रका उद्यमीको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणमा प्रोत्साहन गरिने अधिकारीले बताउनुभयो । 

छनोटमा परेका उद्यमीलाई आइतबार, सोमबार र मङ्गलबार गरी उद्यमशीलता र कार्ययोजनाबारे प्रशिक्षण दिइने भएको छ । न्यौपानेका अनुसार गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानीयस्तरमा हुने उद्यम व्यवसाय, पर्यटन,  उत्पादन, पूर्वाधार निर्माण, सिप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरणलगायतलाई समेटिएको छ ।