नन्द सिंह
(रलिङ) हुम्ला, वैशाख २१ गते । हुम्लाका कुनै ठाउँका विद्यार्थीले एउटा सामान्य झोलुङ्गे पुल समेत नपाएर विद्यालय जान समेत प्रभावित भएको बेला मध्ये क्षेत्रको सर्केगाड गाउँपालिका–४ स्थित दुल्ली गाउँ नजिक आकाशे पुल बनाएर बजेट दुरुपयोग भएको छ ।
सर्केगाड गाउँपालिकाले वडा नम्बर ४ लाई छुट्याइएको बजेट मार्फत उक्त आकाशे पुल बनाएको पाइएको हो । आकाशे पुल लगाएको स्थानमा खासै पुलको आवश्यकता नपर्ने स्थानीय बताउछन् ।
हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । तर पनि खार्पुनाथ गाउँपालिकासम्म अस्थायी रुट परमिट बिनै सवारीसाधन सञ्चालन भएका छन् । ती सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । सलिसल्लादेखि खार्पु खोलासम्म अधिकांश खोलामा पक्की पुल बनाउनु पर्ने आवश्यकता छ ।
कर्णाली नदी वारिपारि गर्नका लागि पक्की पुल बनाउनुपर्ने आवश्यकता छ । यता पक्की पुल त के सामान्य झोलुङ्गे र काठे पुल समेत नहुँदा यहाँका नागरिक सजिलै नदी वारपार गर्नबाट बञ्चित छन् । एक ठाउँबाट अर्को ठाउँ जान समेत ५/६ घण्टा लगाएर सम्बन्धित स्थानमा पुग्नुपर्ने बाध्यता छ । पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित हुँदै गएको छ ।
कुनै गाउँका विद्यार्थी भने जोखिमपूर्ण काठे पुल र तुइनका भरमा विद्यार्थीले आफ्नो ज्यान जोखिम गर्दै विद्यालय जानुपर्ने बाध्यता छ । त्यसैले हुम्ला हालसम्म दुर्गम जिल्लाका रूपमा परिचित छ ।
भरखरै सर्केगाडमा निर्माण गरिएको आकाशे पुल अन्य सुविधा सम्पन्न जिल्ला जस्तै हुम्ला पनि सुगम भनेर चिनाएको छ । करीब २५ मिटरको उक्त आकाशे पुल दुई लाखमा निर्माण भएको छ । उक्त विषयमा सर्केगाड गाउँपालिका–४ का वडाध्यक्ष धनबहादुर छत्यालले गत आ.व.२०८०/०८१ को बजेटले पुल निर्माण गरिएको स्वीकार गर्नुभयो ।
अध्यक्ष छत्यालले मुख्य सडकदेखि दुल्ली प्राथामिक विद्यालयसम्म पुग्नका लागि विद्यार्थीलाई असहज भएको भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पटक पटक आकाशे पुलको माग गरेपछि सो पुलको थालनी गरिएको बताउनुभयो । स्थानीयले मुख्य सडक र विद्यालयबिच भागमा पर्ने जग्गामा बाटो दिन नमानेका कारण सो पुलको अवधारणा ल्याएको अध्यक्ष छत्यालको भनाइ छ ।