काठमाडौँ, वैशाख २१ गते । वीरगन्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनमाथि कठिन जित निकालेको छ ।
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा वीरगन्जले मध्यपुरलाई १–० गोलले हरायो । जितसँगै नौ खेलबाट १५ अङ्क बनाएको वीरगन्ज तेस्रो स्थानमा उक्लिएको छ ।
समान खेलबाट आठ अङ्क बनाएको मध्यपुरलाई रेलिगेसनको दाबाब बढेको छ । प्रतिस्पर्धात्मक खेलमा वीरगन्जलाई जिताउन अमित बच्चरले ४२औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । मध्यपुरको गोल फर्काउने प्रयास सफल भएन ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।