• २१ वैशाख २०८२, आइतबार

म्याग्दे गाउँपालिकाद्वारा उत्कृष्ट चालिस उद्यमी घोषणा

blog

सम्मानित भएका म्याग्दे गाउँपालिकाका उद्यमीहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २१ गते । तनहुँको म्याग्दे गाउँपालिकाले आइतबार उत्कृष्ट ४० घोषणा गर्दै सम्मान गरेको छ । म्याग्दे गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम सो सङ्ख्यामा छनोट गरी सम्मान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम गण्डकी प्रदेशका अध्यक्ष जुनतारा बुढामगरले सयुक्त रूपमा माला लगाएर सम्मानपत्र प्रदान गर्नुभयो । ग्रामिणस्तरमा लघु तथा साना उद्यमहरूको स्तरोन्नती गरी रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्यले कार्यक्रम सुरु गरिएको त्यसको लागि १३९ जनाको निवेदन परेको ४० जना छनोट गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम अन्तर्गत छनोट गरिएको हो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी कुल ७५ लाखको लागतका कार्यक्रम सुरु गरिएको छ। उद्यमशिलताको विकास गरी रोजगारी प्रवर्धन गर्न कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । 

छनोटमा परेका ४० जना मध्येबाट उत्कृष्ट दस जना उद्यमीलाई उद्यम प्रवर्धनका लागि आवश्यक सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रम अन्तर्गत उद्यमीहरूको छनोट, सशक्तीकरण, व्यावसायिकीकरण र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । 

गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका र दायित्व सस्थाको त्रिपक्ष लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत पालिकाभित्रका उद्यमीहरूको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणमा प्रोत्साहन गरिने अधिकारीले बताउनुभयो ।

कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नका लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवर्धन तथा विकासको क्षेत्रमा काम गरिने गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । छनोटमा परेका उद्यमीलाई आइतबार, सोमबार र मङ्गलबार गरी उद्यमशिलता र कार्ययोजनाको बारेमा प्रशिक्षण दिइने भएको छ । 

न्यौपानेका अनुसार गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानीय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन,  उत्पादन, पुर्वाधार निर्माण, सिप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण लगायतलाई समेटिएको छ ।