• २१ वैशाख २०८२, आइतबार

हुम्लाबाट कक्षा १२ को परीक्षामा पाँच सय बढी परीक्षार्थी सहभागी

blog

मोहनसिंह बुढा 

अदानचुली (हुम्ला) वैशाख २१ गते । कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष हुम्लाबाट नियमिततर्फ पाँच सय ७९ जना विद्यार्थीले परीक्षा दिन फारम भरेका थिए । 

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयमा भने पाँच सय १७ परीक्षार्थी उपस्थित भएका थिए । यस्तै ६२ परीक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा समन्वय एकाइ निमित्त प्रमुख योगेश आले मगरले जानकारी दिनुभयो । नि. प्रमुख मगरका अनुसार दुई सय ३५ छात्र र दुई सय ८२ छात्रा उपस्थित हुँदा २९ छात्र र ३३ छात्रा अनुपस्थित रहेका थिए ।

यस्तै, पाँच वटा परीक्षा केन्द्र रहेको हुम्लामा मानसरोवर माविबाट ४० छात्र र ५८ छात्रा गरी ९८ जना उपस्थित हुँदा चार छात्र र छ छात्रा गरी १० जना अनुपस्थित रहेका थिए । त्यस्तै सीता माविबाट २२ छात्र र २४ छात्रा गरी ४६ जना उपस्थित हुँदा एक छात्र र दुई छात्रा गरी ३ जना अनुपस्थित, हिमज्योति माविबाट ९२ छात्र र ९५ छात्रा गरी एक सय ८७ जना उपस्थित हुँदा १२ छात्र र चार छात्रा गरी १६ जना अनुपस्थित र सुर्योदय माविबाट ३१ छात्र र ४० छात्रा गरी ७१ जना उपस्थित हुँदा १ छात्र १ छात्रा गरी २ जना अनुपस्थित रहेको नि. प्रमुख मगरले बताउनुभयो ।

धर्मोदय माविबाट ५० छात्र र ६५ छात्रा गरी ११५ उपस्थित हुँदा ११ छात्र र २० छात्रा गरी ३१ जना परीक्षार्थी अनुपस्थित थिए । पहिलो दिनको परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित वातावरणमा सञ्चालन भएको पनि मगरले बताउनुभयो । भोलि दोस्रो दिन कम्प्युटर विषयको परीक्षा रहेको छ ।