नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २१ गते । जुम्लाको गुठिचौर गाउँपालिका १ नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका छन् । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका हुन् ।
गाउँमा नेटवर्कले काम नगर्दा करिब ८० सय घरपरिवारका नागरिक सञ्चारविहीन हुनु परेको स्थानीय मान बहादुर ऐडिले बताउनुभयो ।
उहाँका अनुसार, फोन गर्नका लागि डाँडा र रुखमा चढ्नु पर्ने बाध्यता रहेको सुनाउनुभयो । फोनको टावरले गाउँमा काम नगर्दा रुख र डाँडाको खोजीमा जानुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
रुखमा नचढे या अग्लो स्थानमा नगएसम्म फोनमा कुरा गर्न नपाइने ऐडि बताउनुहुन्छ । यस्तै अर्का स्थानीय परेक ऐडिका अनुसार, फोन गर्नका लागि रुख र डाँडा भएको ठाउँमा जानु गरेको गुनासो गर्नुभयो ।
गुठिचौर १ डिल्लीकोटमा रहेको टावरले नापानी गाउँसम्म काम नगर्दा गडिगाउँबाट बसाई सरेका तथा अस्थायी बसोवास गर्ने नागरिकलाई सास्ती भएको छ । बिरामी पर्दा होस् वा अरु महत्त्वपूर्ण कामका लागि फोन गर्नु पर्दा नापानी गाउँका नागरिकलाई समस्या छ ।
नापानी बस्ती जाजरकोटको बारेकोट र डोल्पा जिल्लाको जग्गदुला नजिकै पर्छ । बस्ती गहिरोमा भएकाले अग्ला डाँडामा राखिएका टावरले राम्रोसँग काम नगर्न त्यहाँका नागरिक सञ्चारविहीन बनेका हुन् ।
यता गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष अर्जुनकुमार महताराले डिल्लीकोटमा रहेको नमस्तेको टावरले राम्रोसँग काम नगर्दा नापानीका स्थानीय सञ्चारविहीन भएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षभित्र डिल्लीकोटको टावर विस्तार हुने र त्यसपछि नापानीसम्म उक्त टावरले काम गर्ने अपेक्षा जानकारी गराउनुभयो ।
नापानी गाउँका स्थानीयका लागि फोनमा कुराकानी गर्ने अवस्था बनाउनका लागि वडा नम्बर १ को बिचमा रहेको चोत्रा र मणिगाउँको नेटिलेकमा नयाँ टावर निर्माणका लागि पहल भएको महताराको भनाइ छ । नयाँ टावर निर्माणका लागि स्थानीय सरकारसँग स्रोतसाधन भएकाले जुम्लाका सांसदहरूले पहल गरिदिनु पर्ने उहाँले बताउनुभयो ।