• २१ वैशाख २०८२, आइतबार

दुई दिने दन्त शिविरमा ६ सय ६३ जना लाभान्वित

blog

दन्त शिविरवाट सेवा प्रदान गरिदै । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, वैशाख २१ गते । भेरी नगरपालिकाले सञ्चालन गरेको दुई दिने दन्त शिविरबाट ६ सय ६३ जना लाभान्वित भएका छन् । भेरी नगरपालिकाको आयोजनामा ओम समाज हस्पिटल काठमाडौंको सहकार्यमा सम्पन्न दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविरबाट ६ सय ६३ जना स्थानीयवासी लाभान्वित भएका नगरपालिकाले जनाएको छ । 

शिविर भेरी नगरपालिका ८ स्थित स्याउली बजार र १३ को कुदुमा सञ्चालन गरिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक वलीले स्याउली बजारमा ३ सय ६० जना र कुदुमा ३ सय ०३ जना गरी जम्मा ६ सय ६३ जनाले दन्तसम्बन्धी सेवा प्राप्त गरेका जानकारी दिनुभयो ।

विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा प्रदान गरेको शिविरमा दाँत निकाल्ने, भर्ने, मुख तथा दाँतको सम्पूर्ण उपचार सेवा र आवश्यक परामर्शसमेत दिइएको थियो । स्थानीयवासीहरूले शिविरबाट पाएको सेवा अत्यन्त उपयोगी रहेको जनाएका छन् ।

भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले उक्त शिविरले गाउँका सर्वसाधारणलाई सहज, गुणस्तरीय र निःशुल्क सेवा उपलब्ध गराउन सफल भएको जानकारी दिनुभयो । यस्ता खाले शिविरवाट समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने मात्र होइन, स्वास्थ्यप्रति जनचेतना पनि बढ्ने अपेक्षा गरिएको उपप्रमुख जैसीको भनाइ छ ।

स्थानीय बासिन्दाले यस्तो खालको शिविरलाई अत्यन्त स्वागतयोग्य भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् । ओम समाज हस्पिटलका चिकित्सक तथा प्राविधिक टोलीले दुर्गम बस्तीमा पुगेर सेवा दिनु स्थानीयवासीका लागि निकै उपयोगी रहेको स्थानीयको भनाइ छ ।