खजुरा समाचारदाता
खजुरा, वैशाख २१ गते । बाँकेको कोहलपुरका भूमिहीन दलित र भूमिहीन सुकुमवासीले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । कोहलपुर नगरपालिका–११ स्थित शीत भण्डारमा शनिबार कोहलपुर नगरपालिका–१ का ११४ जना भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन दलित र सुकुमवासीलाई लालपुर्जा वितरण गर्नुभएको हो । मन्त्री अधिकारीले सरकार भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउने अभियानमा लागेको भन्दै सम्पूर्ण भूमिहीन नागरिकले जग्गासहितको लालपुर्जा प्राप्त गर्ने बताउनुभयो । उहाँले कोहलपुरबाट यो अभियान सुरु भएको भन्दै जिल्लाका सम्पूर्ण भूमिहीन नागरिकले कानुन अनुसार लालपुर्जा पाउने बताउनुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, “बाँकेमा ५३ हजारभन्दा बढी भूमिहीन नागरिकले आवेदन भरेको तथ्याङ्क छ, त्यतिबेला छुटपुट भएका र दूरदराजमा भएका भूमिहीन नागरिकले अझै सूचना प्राप्त गर्न सक्नुभएको छैन होला । उहाँहरूका लागि हामीले तत्काल ३५ दिने सूचना जारी गरेर आवेदन आह्वान गर्ने छौँ ।”
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले बाँके भूमिसम्बन्धी समस्या भएको जिल्ला भएको बताउनुभयो । नेपालमा भएका भूमिसम्बन्धी समस्यालाई व्यवस्थापन गरेर जग्गाधनी पुर्जा वितरण गर्ने अभियान सञ्चालन भएको र सम्पूर्ण भूमिहीन नागरिकलाई पुर्जा प्रदान गरिने बताउनुभयो ।
उहाँले यो अभियानलाई भूमि आयोग, स्थानीय सरकार, स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि सबैले साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।अहिलेको बस्ती भएको ठाउँमा ४०/५० वर्षअघि जङ्गल नै रहे पनि हाल बस्ती तथा सहर बनेर बसोबास गरिरहेका नागरिकलाई कानुन अनुसार लालपुर्जा दिनुपर्ने बताउनुभयो ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बर्सौंदेखि जमिनको जोतभोग र संरक्षण गर्दै आएको तर सोही जमिनको मालिक हुन नपाएर दुःख पाए पनि लामो समयपछि जग्गाको लालपुर्जा प्राप्त गर्नु ठुलो उपलब्धि भएको बताउनुभयो ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुमवासीको सङ्ख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको छ । जसमध्ये हालसम्म करिब २७ हजार नागरिकलाई जग्गाको निस्सा वितरण गरिएको छ ।