• २० वैशाख २०८२, शनिबार

म्याग्दीका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा

blog

सोमबार आयोजित रघुगङ्गा गाउँपालिका पूर्णखोप पालिका घोषणा समारोह । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), वैशाख २० गते ।
म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेकामा हालसम्म पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका छन् । शुक्रबार अन्नपूर्ण गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएसँगै पूर्णखोप सुनिश्चितता एवम् दिगोपना पालिकाको रुपमा घोषणा हुनेको सङ्ख्या पाँच पुगेको हो ।

अन्नपूर्णमा बच्चा जन्मेदेखि १५ महिनासम्मका ९९ जना र १६ महिनादेखि ५९ महिनासम्मका चार सय ३७ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चिता सहित अन्नपूर्णलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको छ । बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोपहरु पाएका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरु सबैले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन् । घोषणा हुने गाउँपालिकाहरुमा धवलागिरी, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका रहेका छन् । घोषणा भएका सबै गाउँपालिकालाई पूर्णखोप सुनिश्चितताको घोषणा भएको तथा दिगोपना कायम राख्नका लागि प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।

धवलागिरीमा कुल ६ सय ३१ जना बालबालिका, मङ्गलामा दुई सय ११ जनासहित बालबालिका, मालिकामा कुल नौ सय २८ जना बालबालिका , रघुगंगामा तीन सय एक जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाहरु घोषणा गर्नुअघि सबै वडालाई पुर्ण खोप वडा घोषणा गरिएको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पूर्णखोप कार्यक्रममा नेपाल सरकारको ४० प्रतिशत र दातृ निकायको ६० प्रतिशत लगानी रहेको जानकारी दिनुभयो । उहाँले पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो । अब बेनी नगरपालिका घोषणा भएपश्चात् जिल्लालाई पनि पूर्णखोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिनेछ ।