• २० वैशाख २०८२, शनिबार

नाउर र झारलको सिकार

blog

ढोरपाटन सिकार आरक्षमा नाउरको सिकार गरेपछि तस्बिर खिचाउँदै विदेशी सिकारी । तस्बिर : अर्जुन कार्की

काठेखोला (बागलुङ) समाचारदाता

काठेखोला (बागलुङ), वैशाख २० गते  । ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो याम (फागुन–वैशाख) मा ११ नाउर र सात झारलको सिकार भएको छ । ढोरपाटन सिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामका लागि १३ नाउर र १० वटा झारलको कोटा निर्धारण गरी अनुमति दिएको थियो तर दोस्रो याममा कोटाभन्दा दुई नाउर र तीन झारलको कम सिकार भएको हो ।

नेपाल ट्राभल एक्सपिडिसन प्रालि जावलाखेल ललितपुरमार्फत आएका तीन र हिमालयन वाइल्डलाइफ आउटफिटर्सबाट आएका एक विदेशी सिकारीले यस पटक निर्धारित कोटाभन्दा पाँच वटा वन्यजन्तुको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । रेन्जर सुवेदीले नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत एक नाउर र एक बँदेलको सिकार अनुमति प्राप्त गरेका अमेरिकी नागरिक मार्क भर्नन पिटरसन सिकार गर्न नआएको बताउनुभयो । यस्तै एक नाउर र एक झारलको सिकार अनुमति पाएका फ्रान्सेली नागरिक ओलिभर चाल्र्स भेरिजले सिकार गर्न सकेनन् । ओलिभर सिकारका लागि ढोरपाटन आए पनि दोगाडी ब्लकमा नपुग्दै हतियारमा समस्या आएपछि बिचबाटै घर फर्किएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । 

एक एक नाउरको सिकार गरेका नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत अमेरिकन नागरिक जेम्स लेरोय जोन्सन र हिमालयन वाइल्डलाइफ आउटफिटर्समार्फत स्पेनिस नागरिक मार्कोस ओलाइजोला अल्कोर्टाले झारलको सिकार गर्न सकेनन् । उनीहरूको नाउर सिकारपछि व्यक्तिगत समस्याले झारलको सिकार नगरी फर्किएको रेन्जर सुवेदीले बताउनुभयो । जेम्सले गुस्तुङ ब्लकमा एक नाउर र मार्कोसले सुनदह ब्लकमा एक नाउरको सिकार गर्नुभएको छ । 

हिमालयन वाइल्डलाइफ आउटफिटर्समार्फत स्पेनिस नागरिक एडुआर्डो सान्चेज ओकानागुन्डिनले सेङ, घुस्तुङ ब्लकमा एक नाउर र एक झारल, ट्र्याक्स एन्ड ट्रेल्स प्रालिमार्फत दुई अमेरिकन नागरिक जोहान ली एमिस्टोसो र केभिन क्लम्परले सेङ र गुस्तुङ ब्लकमा दुई नाउर र दुई झारलको सिकार गर्नुभएको हो । यस्तै हिमालयन सफारिज प्रालिमार्फत तीन अमेरिकन नागरिक डेभिड युजिन टटल, जेसिका जोय भान्डेन बर्ग र रायन जे बर्टले दोगाडी (पूर्वी रुकुम) ब्लकमा तीन नाउर र एक झारलको सिकार गरेको रेन्जर सुवेदीले बताउनुभयो ।

यो सिजनमा १२ बँदेलको सिकार अनुमति पाए पनि कुनै पनि सिकारीले बँदेलको सिकार नगरेको रेन्जर सुवेदीले बताउनुभयो । उहाँले बँदेल सिकारीको प्राथमिकतामै नपरेको बताउनुभयो । रेन्जर सुवेदीले भन्नुभयो, “हरेक याममा बँदेल सिकारका लागि विभागले अनुमति प्रदान गर्दछ । विदेशी सिकारी नाउर झारलको सिकार गर्न प्राथमिकता दिएर आउने गर्छन् । उनीहरूले नाउर र झारलको सिकार गरेपछि फर्किने गरेका छन् । बँदेल विदेशी सिकारीको रोजाइमा परेको छैन ।” विभागले फागुन महिना सिकारका लागि पेसेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी बोलपत्र प्रव्रिmयाबाट छानिएका छ कम्पनीमार्फत पाँच देशका १५ जना पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याममा सिकार गरेका थिए ।

यस पटक सिकारीले एउटा नाउरको सात लाख ५० हजार रुपियाँसम्म राजस्व तिरेको रेन्जर सुवेदीले बताउनुभयो । उहाँले दोस्रो याममा सिकारमार्फत एक करोड २६ लाख ४० हजार रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो । चालु आवको पहिलो याम (असोज–मङ्सिर) मा एक करोड ४१ लाख ३० हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

सिकारी हेलिकोप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तीवाङ र घुस्तुङ गरी सात ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ । विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक सिकारीलाई नेपाल भिœयाउँछन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।