• २० वैशाख २०८२, शनिबार

स्याङ्जाका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा

blog

गल्याङ नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), वैशाख २० गते ।
स्याङ्जाका पाँच पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ११ पालिका रहेको स्याङ्जाका अन्य पालिकामा पनि पूर्णखोपको अभियानमा रहेका छन् ।

१५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यायल स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष यो कार्य गरिँदै आएको छ । कोही पनि बालबालिका खोप लगाउनबाट बन्चित हुनु हुँदैन र यो वर्ष छैनन् भन्ने सन्देश दिनका लागि यो विधि अपनाइएको उहाँको भनाइ छ ।

अहिलेसम्म तीन नगरपालिका र दुई गाउँपालिकाले पूर्णखोप पालिका घोषणा गरिएको छ । पुतलीबजार, भीरकोट र गल्याङ् नगरपालिका तथा बिरुवा र हरिनास गाउँपालिकाले पूर्णखोप पालिका घोषणा गरिसकेको चापागाईँले जानकारी दिनुभयो । केही हप्ता भित्र स्याङ्जाका बाँकी रहेका पालिकाले पूर्णखोप पालिका घोषणा गरिसक्ने योजना रहेको उहाँको भनाइ छ ।

गत वर्ष जिल्लाभर दुई हजार ६ सयको अनुमान गरिएकोमा यो वर्ष वृद्धिदरका आधारमा दुई हजार सात सय बालवालिकाले खोप लगाउने अनुमान रहेको कार्यालयको भनाइ छ ।

यसैबिच पुतलीबजार नगरपालिकाका सरोकारवालाले गर्दै दिगोपनका लागि समेत प्रतिबद्धता जनाउँदै पालिकालाई पूर्णखोप घोषणा गरेको छ । पालिकामा घरधुरी आधारमा नगरभित्रका खोप लगाउन छुट भएका ५२३ जना बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

यस्तै, गल्याङ नगरपालिकाका तीन सय २३ बालबालिकालाई सम्पूर्ण खोप दिएपछि पालिकालाई पूर्णखोप पालिका घोषण गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । बालबालिकालाई खोप सेवा प्रदान गर्न जम्मा ३४ वटा खोप केन्द्रहरु हरेक महिना सञ्चालन गरेर यो कार्यक्रम सम्पन्न गरिँदै आएको उहाँको भनाइ छ । 

भीरकोट नगरपालिकालाई नगर प्रमुख गोविन्द कुमार कर्मचार्यले पूर्णखोप पालिका घोषणा कार्यलाई प्राथमिकताका रुपमा लिँदै आएको बताउनुभयो ।