धनगढी समाचारदाता
धनगढी, वैशाख २० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह गर्नुभएको छ । एकहप्ते भारत भ्रमणको क्रममा बिहीबार दिल्लीमा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहसँगको भेटवार्तामा उहाँले यस प्रदेशको विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । भारतले नेपालको विकासका लागि सहयोग गर्दै आएको भन्दै उहाँले प्रशंसासमेत गर्नुभएको थियो ।
यसै गरी भारतको तिकुनियादेखि कैलालीको खव्रmौलासम्मको सडक चाँडै सम्पन्न गर्ने सम्बन्धमा मुख्यमन्त्री शाह र विदेश राज्यमन्त्री सिंहबिच छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटघाटको व्रmममा मुख्यमन्त्री शाहले दार्चुलामा निर्माणाधीन पुलको काम छिट्टै सम्पन्न गर्न आग्रह गर्नुभयो । यसै गरी बैतडी, डडेलधुरामा पुल निर्माणको प्रव्रिmया चाँडै सुरु गर्नुपर्ने विषयमा पनि उहाँले भारतसमक्ष कुरा राख्नुभएको थियो । भेटमा मुख्यमन्त्री शाहले मुख्यमन्त्रीस्तरीय भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पु-याउने बताउनुभएको थियो ।
मुख्यमन्त्री शाहको टोलीले नयाँ दिल्लीस्थित प्रधानमन्त्री सङ्ग्रहालय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी, जलविद्युत् विकास सङ्गठन (एनएचपिसी) लिमिटेड र कृषि अनुसन्धान केन्द्रको अवलोकन गरेको छ । नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनीसँगको छलफलमा मुख्यमन्त्री शाहले सूचना प्रविधिको युगमा डिजिटलमैत्री प्रविधिको विकास गरी जनतालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको औँल्याउनुभयो । यस्तै कृषि अनुसन्धान केन्द्रसँगको छलफलमा नेपालमा आधुनिक कृषि विकासका लागि सहयोग गर्न भारत सरकारलाई आग्रह गर्नुभयो उहाँको सचिवालयले जनाएको छ ।
नेपालमा काम गरिरहेको एनएचपिसीसँगको छलफलमा मुख्यमन्त्री शाहले पश्चिम सेती आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगे पनि आर्थिक अभावका कारण अगाडि बढ्न नसकेको बताउनुभएको थियो । उहाँले यसलाई अन्तिम रूप दिनका लागि प्राविधिकलगायतको सहयोग गर्न भारत सरकारलाई आग्रह गर्नुभएको छ । एनएचपिसीसँगको छलफलको क्रममा पञ्चेश्वर जलविद्युत् आयोजना, फुकोट कर्णाली, वेतन कर्णाली र मुगुको कर्णाली जलविद्युत् आयोजनाको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा छलफल गरिएको थियो । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख २२ गतेसम्म भारत भ्रमणमा रहने छ ।