• १६ असार २०८१, आइतबार

सवारी दुर्घटनामा कमी

blog

धनुषाको ढल्केवर–जनकपुर सडकखण्ड । तस्बिर : विजयकुमार साह

विजयकुमार साह /ढल्केवर समाचारदाता
ढल्केवर, जेठ २५ गते ।
धनुषाको ढल्केवर–जनकपुर–जटही मार्गमा सुरक्षित सडक बनेपछि सवारी दुर्घटनामा कमी आएको छ ।

फराकिलो सडक र सुरक्षा प्रबन्धको व्यवस्थाले गर्दा दुर्घटना हुने दर घटेको हो । ढल्केवर–जटही सडकखण्ड छ लेनको बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्कअनुसार जिल्लामा ०७८ साउन १ गतेदेखि ०७९ वैशाख मसान्तसम्ममा ८१७ सवारी दुर्घटना भएका छन् । जसमध्ये सबभन्दा बढी ग्रामीण सडकमा ४५५ वटा सवारी दुर्घटना भएको छ । पूर्व–पश्चिम तथा ढल्केवर–जनकपुर हाइवेमा २९१ र शहरी क्षेत्रमा ७१ वटा सवारी दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ ।

सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या पनि ग्रामीण सडकमै बढी देखिन्छ । ग्रामीण सडकमा ४७, राजमार्गमा ४२ र शहरी क्षेत्रमा पाँचजनाको दुर्घटनामा परी मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा प्रमुख प्रहरी निरीक्षक चन्द्रभुषण यादवले अन्य राजमार्ग तथा ग्रामीण सडकको तुलनामा ढल्केवर–जनकपुर सडकखण्डमा सवारी दुर्घटनामा कमी आएको बताउनुभयो ।

उहाँले रेलिङ्गसहितको आवतजावत गर्ने छुट्टाछुट्टै सडक लेन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको नियमित उपस्थितले यो सडकखण्डमा सवारी दुर्घटनाको दरमा कमी ल्याउन सफल भएको जानकारी दिनुभयो ।

छुट्टाछुट्टै सडक लेन भएकाले विपरित दिशाबाट आउने गाडी ठोक्किन सम्भावना रहँदैन् । यस्तै फराकिलो र राम्रो सडक बन्यो भने दुर्घटना कम हुने रहेछ भन्ने कुराको यो उदाहरण भएको प्रहरी निरीक्षक यादवले भन्नुभयो । सडक सुरक्षा राम्रो भएका कारण गाडीहरुको सङ्ख्या बढे पनि दुर्घटना कम भएको दोहो¥याउनु हुँदै उहाँले जिल्लाका अन्य सडक मार्गमा पनि दुर्घटना न्यूनिकरणका प्रयासहरु गरिरहेको भन्नुभयो ।

२०७२ साल सुरु गरिएको पहिलो चरणको जनकपुर–जटही छ लेन सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ । दोस्रो चरणअन्तर्गत २०७४ सालमा सुरु भएको जनकपुर–ढल्केवर सडकखण्डको सपही, पिडारी चौक, रामानान्द चौक र जिरोमाइललगायतका स्थानमा रेलिङ्ग, पोल, नालासहितका कामहरु केही अंशमात्र बाँकी रहेको छ ।