• १५ असार २०८१, शनिबार

दुुईदिने बिदाको प्रभाव

डिजेल पेट्रोलको खपत १८ प्रतिशतले घट्यो

blog

काठमाडौँ, जेठ २५ गते । दुई दिन सार्वजनिक बिदाले पेट्रोलियम पदार्थको खपत १८ प्रतिशतले घटेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको थियो । तीन साताको अवधिमा डिजेल पेट्रोलको खपत १८ प्रतिशतले कमी आएको नेपाल आयल निगमले जनाएको छ ।   

निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले दुई दिनको बिदाले डिजेल पेट्रोलको खपत १८ प्रतिशतले घटेको बताउनुभयो । निगमका अनुसार गत वैशाख महिनाको २२ गते ४७ हजार ८५० किलोलिटर पेट्रोल खपत भएकोमा जेठ महिनाको २२ गतेसम्म घटेर ३९ हजार ४५० किलोलिटरमा झरेको छ । यो १७.५५ प्रतिशतको गिरावट हो । 

त्यस्तै वैशाखको २२ गतेसम्म १ लाख ८ हजार ४९३ किलोलिटर डिजेल  खपत भएकोमा जेठ महिनाको सोही अवधिमा घटेर ८८ हजार ५४८ किलोलिटरमा झरेको छ । यो अघिल्लो महिनाको तुलनामा १८.३८ प्रतिशत कम हो । २२ दिनको अवधिमा पेट्रोल ८ हजार ४ सय किलोलिटर र डिजेल १९ हजार ९४५ किलोलिटर खपत कम भएको कार्कीले जानकारी दिनुभयो । जेठ महिनामा दुई दिन बिदासँगै ठूला ठूला परियोजनाको निर्माण कार्य रोकिएकाले पनि खपत कम भएको उहाँले जानकारी दिनुभयो । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र बेमौसमी वर्षाका कारण अहिले निर्माण क्षेत्रको काम सुस्त हुन पुगेको छ ।

यसअघि निगमले आइतबार बिदा दिँदा ८ देखि १० प्रतिशत घट्ने अनुमान गरेको थियो । सरकारले जेठ १ गतेदेखि आइतबार बिदा दिन थालेपछि सरकारी कार्यालय बन्द भएका थिए । 

आर्थिक वर्षको अन्त्यमा तीव्ररूपमा हुने गरेका काम सुस्त हुँदा यसले उल्लेख्य रूपमा पेट्रोलियम पदार्थको माग घटेको हुनसक्ने अनुमान गरिएको छ । सीमावर्ती बजारबाट भारततर्फ हुँदै आएको पेट्रोलियम पदार्थको तस्करी यतिबेला रोकिएको छ । नेपालमा भन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्न थालेपछि यतिबेला नेपाली बजारबाट भारतबाट पेट्रोल किन्ने क्रम बढ्दासमेत यसले नेपालको माग घटेको हुनसक्ने अनुमान गरिएको छ । भारतले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएपछि अहिले इन्धनको मूल्य सस्तिएको छ । 

निगमका अनुसार सामान्य अवस्थामा पेट्रोल दैनिक २ हजारदेखि २२ सय किलोलिटरसम्म खपत हुने गर्छ । डिजेल ५ हजारदेखि ५२ सय किलोलिटरसम्म खपत हुुन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि खपत घटाउन निगमले हप्तामा दुई दिन बिदा गर्न सरकारसमक्ष सुझाव पेस गरेको थियो । सोहीअनुसार सरकारले १ जेठदेखि शनिबार र आइतबार बिदा लागू भएको थियो । अब आइतबार बिदा १ असारदेखि खारेज हुने भएको छ । 

२ खर्ब ५७ अर्बको इन्धन आयात

चालू आर्थिक वर्षको जेठ पहिलो हप्तासम्म २ खर्ब ५७ अर्ब रुपियाँ बराबरको २३ लाख ८० हजार किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन) आयात भएको छ । सो अवधिमा खाना पकाउने एलपी ग्यास ४ लाख ७८ हजार मेट्रिक टन आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ खर्ब रुपियाँ बढीको इन्धन आयात भएको निगमको भनाइ छ । 

जुन १ मा इन्डियन आयल कर्पेरेसन (आईओसी) ले पठाएको मूल्य बढेर आएकाले पेट्रोलमा प्रतिलिटर २२ रुपियाँ ७३ पैसा, डिजेलमा १९ रुपियाँ ७३ पैसा घाटा छ । यस्तै ग्यास प्रतिसिलिन्डरमा ७ सय ५१ रुपियाँ घाटा छ । पेट्रोलमा मासिक १ अर्ब ३४ करोड, डिजेलमा २ अर्ब ६० करोड र ग्यासमा २ अर्ब ८६ करोड घाटामा छ ।

Author

लक्ष्मी सापकोटा