• १६ वैशाख २०८२, मङ्गलबार

लेकतर्फ लाँदै भेडीगोठ

blog

छायानाथ रारा नगरपालिका–६, कोटिला गाउँका किसान भेडाबाख्रा बेँसीबाट लेकतर्फ लैँजादै ।

मुगु समाचारदाता

मुगु, वैशाख १६ गते । बेँसीका भेडीगोठमा रहेका भेडाका बथान चरनका लागि लेक र हिमाली भेगतर्फ लागेका छन् । चिसो मौसममा चरनमा समस्या भएपछि बेँसी झरेका भेडा गर्मी सुरु भएसँगै फेरि लेकतर्फ गएका हुन् । 

जिल्लाको छायानाथ रारा नगरपालिका–६ को खाडाचौरका भेडीगोठका गोठालाले भेडाका बथानलाई लेक र उच्च खर्कतर्फ लैजान थालेको भेडीगोठाला रतनबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बेँसीमा गर्मी बढेपछि यहाँका २२ वटा भेडीगोठका बथानलाई बेँसीबाट लेकतर्फ लागेका छन् ।” स्थानीय वाँच्या ऐडीका अनुसार चिसो समयमा हिमाली भेगका लेकमा हिउँ पर्दा उक्त ठाउँमा चिसो र भेडा चरनका लागि घाँस नपाउने हुँदा हिमाली भेगबाट चिसो छल्न बेँसी झरेका यी गोठ फेरि लेकतर्फ लगेका छन् । यहाँका स्थानीयको प्रमुख आम्दानीको स्रोत भेडीगोठ हो । 

गोठाला कमल कार्कीले चिसो मौसममा बेँसी झारिएका भेडीगोठ फेरि लेकतर्फ लैजान थालेको बताउनुभयो । केही दिनका लागि हिमालको काखमा रहेको खात्तला लेकमा राख्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीको सात महिना लेक र चिसोको पाँच महिना बेँसीमा गोठ राख्ने गरिएको छ ।”

छायानाथ रारा नगरपालिका–६ का ३५ वर्षीय मानबहादुर बोहोराले चिसो छल्न बेँसी झारेका भेडा वैशाखदेखि लेकतर्फ लगेका छन् । उहाँले अहिले हिमालको काखमा रहेको भालुकाँडा भन्ने ठाँउमा भेडा राख्न राखिएको भन्दै उहाँले भन्नुभयो, “बेँसीबाट भेडाबाख्रा चराउँदै मुन्दु, रमदा, मुड्या, हुँदै खात्तला खर्कतर्फ लागेका छौँ ।” उहाँको गोठमा सानाठुला गरी १०८ भन्दा बढी भेडाबाख्रा छन् । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका अनुसार बेँसीमा रहँदा भेडीगोठको मल खेतबारीमा प्रयोग हुन्छ । कार्यालय अधिकृत भीमचन्द्र बुढाका अनुसार जिल्लामा सात हजारभन्दा बढीले भेडाबाख्रा पाल्दै आएका छन् । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत भेडाबाख्रा भएकाले भेडीगोठलाई प्रोत्साहन गर्न कर्णाली प्रदेशको आर्थिक सहयोगमा ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई १८ हजार रुपियाँका दरले प्रोत्साहन भत्ता दिने गरिएको छ । उहाँले भन्नुभयो, “हरेक वर्ष जिल्लाका दुई सयदेखि तीन सय भेडापालक किसानलाई प्रोत्साहन भत्ता कार्यालयले कागजत र अनुगमनका आधारले वितरण गर्दै आएका छौँ ।” जिल्लाका भेडापालक किसानले भेडाको उनबाट राडी, फेरुवा, लिउ बक्खुलगायत सामग्री बनाउने गरेका छन् । 

जिल्लामा २३ हजार भेडाबाख्रा छन् । वार्षिक १० हजार किलो उन उत्पादन हुन्छ, जुन प्रतिकिलो तीन सय रुपियाँमा बिक्री हुन्छ । भेडाको मासुबाट वार्षिक एक सय मेट्रिक टन उत्पादन भई ५० लाख रुपियाँसम्म आम्दानी हुने गर्दछ । जिल्लामा वार्षिक एक करोड रुपियाँको हाराहारीमा आम्दानी भए पनि नयाँ पुस्ताले यो पेसालाई बेवास्ता गर्दा भेडीगोठ लोप हुने अवस्थामा पुगेको स्थानीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडी बताउनुहुन्छ । हाम्रो क्षेत्री समुदायका बस्तीमा भेडाको उनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने र प्रयोग गर्ने चलन अझै छ ।