• ९ जेठ २०८१, बुधबार

सात प्रकारका क्यान्सरको अनुसन्धान हुँदै

blog

शालिग्राम नेपाल 

चितवन, जेठ २५ गते । क्यान्सर रोगको पहिचान र उपचार कसरी गर्ने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।स्थानीय तहका स्वास्थ्य संस्था, बिरामीदेखि विशेषज्ञ अस्पतालका चिकित्सकले रोग भए नभएको कसरी पत्ता लगाउने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र डब्लूएचओअन्तर्गत आईएआरसी संस्थाको संयुक्त प्रयासमा अनुसन्धान सुरु भएको हो । 

थाहै नपाई अन्तिम अवस्थामा क्यान्सर रोग पत्ता लाग्ने गरेको, रोग लागिसकेपछि पनि थाहा नपाएर उपचार नगरेको, उपचार गर्दागर्दै निको नभएको, कसरी रोग पहिचान गर्ने गरिएको छ, बिरामीले पाइरहेको उपचारप्रतिको धारणासहित विभिन्न सात प्रकारका क्यान्सर रोगको उपचार कसरी भइराखेको छ भन्नेलगायतका विषयमा अनुसन्धान गर्नेछन् । धेरै क्यान्सर रोगमध्ये पछिल्लो समय विभिन्न सात प्रकारका क्यान्सर रोग वृद्धि भएकाले यसैसँग केन्द्रित रहेर अनुसन्धान सुरु भएको क्यान्सर अस्पताल भरतपुरका प्रिभेन्सिभ शाखाका डाक्टर अस्मिता राणाले जानकारी दिनुभयो । 

अनुसन्धानमा स्तन क्यान्सर, फोक्सोमा हुने क्यान्सर, पेट, मुखमा लाग्ने क्यान्सर, बालबालिकालाई लाग्ने सबै प्रकारका क्यान्सर, पाठेघरमा लाग्ने, ठूलो आन्द्रामा लाग्ने क्यान्सरको विषयमा अनुसन्धानकर्ताले प्रत्यक्ष भेटेर सोध्ने छन् । डाक्टर राणाले भन्नुभयो, ‘प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य संस्थाहरूमा पुगेरै प्रश्नहरू सोधिनेछन्, प्रत्यक्ष भेटेर गरिने अनुसन्धानबाट थप तथ्य फेला पार्ने विश्वास लिएका छौँ ।  राणाले भन्नुभयो, “जुन  १ तारिखबाट सुरु भएको यो अनुसन्धान एक वर्षसम्म सञ्चालन हुनेछ । त्यसपछि आएको परिणामलाई अध्ययन गरेर रिपोर्ट तयार पार्ने छौँ ।”

उपचारबाट बिरामीले पाएको सन्तुष्टि वा गुनासो र रोग पत्ता लागेको चरणका विषय अध्ययन गरिनेछ । तीबाहेक ती सात प्रकारका रोगको पछिल्लो अवस्थाको विषयमा समेत नयाँ तथ्यहरू पत्ता लाग्ने विश्वास लिइएको उहाँले जानकारी दिनुभयो । 

क्यान्सर अस्पताल भरतपुरले तयार पारेको रिपोर्टअनुसार सन् २०२० मा फोक्सोको क्यान्सरका बिरामी ५५४ जना थिए । एक वर्षमा नयाँ देखिएको बिरामीको सङ्ख्या हो । त्यस्तै गरी दोस्रोमा पाठेघरको क्यान्सरका बिरामी रहेका छन् । एक वर्षमा ४९५ जना बिरामी भेटिएका छन् । तेस्रो ठूलो बिरामीको सङ्ख्या स्तन क्यान्सर रहेको छ ।

एक वर्षमा ४३८ जनालाई स्तन क्यान्सर भएको देखिएको छ । स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या २८ रहेको छ । पछिल्लो समय पुरुषलाई पनि स्तन क्यान्सर देखिन थालेको डाक्टर राणाले जानकारी दिनुभयो । पेट २३५, मूत्रथैली २१३, गर्भास्थानमा हुने २१३, जिब्रोमा हुने १६३, मलद्वारमा हुने १६२, हड्डी र जोर्नीमा क्यान्सर हुने १३८ बिरामी रहेका छन् । अस्पतालले सन् २०२१ मा एक वर्षभरि देखिएका नयाँ क्यान्सरका बिरामीको सङ्ख्या आउँदो असोजमा सार्वजनिक गर्दैछ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको गेटअगाडि बिरामी ।