• १५ वैशाख २०८२, सोमबार

शिक्षक आन्दोलनको दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर

blog

अध्यक्ष महन्थ ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताउनुभएको छ । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अहिले शिक्षकहरू सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताउनुभयो । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उहाँको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभई सरकारको आलोचना गर्न सकिने बताउनुभयो ।

अध्यक्ष ठाकुरले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले सामुदायिक विद्यालयको बलमा सबैलाई शिक्षित गर्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । नेपालमा पानी र स्वास्थ्यको समस्या पनि त्यत्तिकै रहेको बताउनुभयो । 

‘‘सरकारलाई दोष दिएर मात्रै हुँदैन । सरकारमाथि हामी आलोचना गर्नसक्छौँ । तर निजी स्कुल रहेन भने के हुन्छ हाम्रो यो शिक्षाको अवस्था ? सामुदायिक स्कुलको बलमा सबैलाई शिक्षित गर्नसक्छौँ ? सक्दैनौँ । पानीको समस्या छ । निजी क्षेत्रबाट पानी ट्याङ्करले नल्याउने हो भने पानीको समस्या कति ठुलो छ ।,’’ अध्यक्ष ठाकुरले भन्नुभयो, ‘‘हामीसँग पिउने पानीको समस्या पनि त्यत्तिकै छ । स्वास्थ्य समस्या पनि छ । मानिस स्वस्थ रहेमात्रै, शिक्षित रहे मात्रै आफ्नो खुट्टामा उभिनसक्छ । भविष्य निर्माण गर्दछ । अशिक्षित छ, अस्वस्थ छ भने उसले श्रम गर्न सक्दैन ।’’अध्यक्ष ठाकुरले सबै मिलेर काम गरेमात्रै देश बन्नसक्ने बताउनुभयो ।