नेपालगन्ज समाचारदाता
नेपालगन्ज, वैशाख १५ गते । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट बहिरङ्ग (ओपिडी) भवन र प्रयोगशालामा प्रयोग हुने विभिन्न रसायनलगायतमा ठुलो क्षति भएपछि दुई दिनका लागि सेवा बन्द गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले शनिबार अस्पतालमा भएको आगलागीले बहिरङ्ग भवनमा नोक्सानी पुर्याएपछि आइतबार र सोमबारका लागि बहिरङ्ग सेवा र अस्पतालको प्रयोगशाला सेवा बन्द गरिएको बताउनुभयो ।
उहाँले मेडिकल स्टोरमा भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, बहिरङ्ग भवनलगायतका ठाउँमा क्षति हुँदा करिब चार करोडको क्षति भएको जनाउँदै सोही कारणले तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा सुचारु गर्न नसकिने हुँदा वैशाख १४ र १५ गते दुवै सेवा बन्द रहने बताउनुभयो ।
अस्पताल प्रशासनले आइतबार र सोमबार बहिरङ्ग सेवा तथा प्रयोगशाला सेवा बन्द रहने सूचना सार्वजनिक गरे पनि आइतबार भेरी अस्पतालमा जाँचका लागि धेरै जना बिरामी पुगेका थिए । उनीहरूले आफूहरूले बहिरङ्ग सेवा बन्द हुने जानकारी नपाएर अस्पताल पुगेको जनाउँदै समस्या भएको गुनासो गरेका थिए ।
केही बिरामी बर्दिया र सुर्खेतबाट समेत स्वास्थ्य परीक्षणका लागि आएका थिए । आइतबार बिहान अस्पतालको बहिरङ्गनजिकै भेटिनुभएका बर्दिया मधुवनका जयराम चौधरीले अस्पतालमा आगलागी भएको कुरा सुने पनि सेवा बन्द रहनेबारे आफूले थाहा नपाएर आएको र अहिले समस्यामा परेको बताउनुभयो । चौधरी जस्ता धेरै बिरामी अस्पतालपरिसरमा भेटिएका थिए ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले आगलागीका कारण बहिरङ्ग र प्रयोगशाला सेवा बन्द गर्नुपर्ने बाध्यताका कारण बन्द गर्नु परेको जनाउँदै गम्भीर समस्या भएका बिरामीलाई आकस्मिकमा जाँचको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले दुई दिनका लागि आकस्मिकमा स्वास्थ्यकर्मीको सङ्ख्या थप गरेर जाँचको व्यवस्था मिलाउनेबारे छलफल भइरहेको बताउनुभयो ।
पाँच सदस्यीय छानबिन समिति गठन
भेरी अस्पतालमा भएको आगलागीका कारण र क्षतिको एकिन विवरण सङ्कलन गरेर प्रतिवेदन प्रस्तुत गर्न अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
सो जानकारी गराउँदै अस्पताल विकास समितिका अध्यक्ष शाहले समितिमा अस्पताल विकास समितिका सदस्य समीर गुरुङ तथा कर्मचारीहरू बुद्धिबहादुर थापा, उदयवीर शाही र मदन विक सदस्य रहनुभएको बताउनुभयो ।
समितिले छानबिन सुरु गरेको जनाउँदै छानबिन समितिका संयोजक डा. धितालले दुई/तीन दिनभित्र सम्पूर्ण छानबिन गरेर प्रतिवेदन बुझाउने गरी काम सुरु गरिएको बताउनुभयो ।