निराजन परियार
चौमाला (कैलाली), वैशाख १४ गते । बजेट निर्माणमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रीय राजधानी काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आ.व. २०८२/०८३ को सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरु विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरु, प्रदेश मन्त्रीहरु तथा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कृषि क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य, कनेक्टिभिटी (दुई देशबिच), कनेक्टिभिटी (अन्तर प्रदेशस्तरिय) जलविद्युत, खेलकुद, नदी नियन्त्रण तथा तटबन्धन, भन्सार नाका, औद्योगिक विकास, वन विकासका विषयमा छलफल भएको थियो । सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना साकार गर्न आवश्यक रणनीतिहरु र सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सहभागीहरुले धाराणा राख्नुभएको थियो । कार्यक्रमका सहभागीहरुको सुदूरपश्चिमको हातेमालो गर्नुपर्नेमा जोड थियो ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिमको विकासमा सबै हातेमालो गर्नुपर्ने बताउनुभएको छ । उहाँले कृषि, पर्यटन, धार्मिक र साँस्कृतिक क्षेत्रसँगै मानव विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको मर्म र भावना अनुसार सुदूरपश्चिम प्रदेशको विकासका लागि नेपाल सरकारले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण र समावेशी समन्यायिक प्रादेशिक सन्तुलन सहितको आर्थिक, सामाजिक र भौतिक विकासका क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
“प्रदेशको विकासका लागि संघ सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु र रुपान्तरणकारी आयोजनाहरुमा उच्च प्राथमिकता र बजेट विनियोजन संघ सरकारले गर्नुपर्दछ ।” आफुले यसअघिको भेटमा आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिसकेको मुख्यमन्त्री शाहले बताउनुभयो ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलगायत सुदूरपश्चिमका नेताहरुको सहभागिता रहेको थियो ।