• १४ वैशाख २०८२, आइतबार

गुल्मीको मरभुङ्गमा गोठ जल्दा १२ पशुचौपाया मरे

blog

आगलागीले ध्वस्त मालिका गाउँपालिका–८ का तुलबहादुर घर्तीको गोठ । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १४ गते ।
गुल्मीको मरभुङ्गमा आइतबार बिहान गोठमा आगलागी हुँदा १२ वटा पशुचौपायाको जलेर मृत्यु भएको छ । मालिका गाउँपालिका–८ किलिबाङका तुलबहादुर घर्तीको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा एक भैंसी र पाडीसहित खोरमा रहेका १० बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । 

यसैगरी, खोरमा रहेका चार बाख्रा जलेर घाइते छन् । घटना लगत्तै मरभुङ्ग प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक दिपक शाहको कमान्डमा पुगेको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको सारुले बताउनुभयो । गोठ र बाख्राको खोर पूर्णरूपमा जलेर नष्ट भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।