एक दिन एक जना भलाद्मी विवाह पार्टीबाट आफ्नो निजी कार आफैँले चलाएर घर फिर्दै थिए । भक्तपुरस्थित आफ्नो मान्छेको विवाह पार्टीमा खानपिन गरी राधे राधे नजिकको खुला सडकमा आइरहेको थिए । उनले मनमा कुरा कुरा खेलाए बाटोमा मापसे (मादक पदार्थ सेवन) चेकजाँच गर्न प्रहरीहरू पनि हुन्छन् होला । केही गरी मापसेमा परियो भने कसरी फुत्किनु भन्ने सोच्दै होसले गाडी चलाउँदै थिए तर ठिमीनजिक आइपुगेपछि ती भलाद्मीले प्रहरीहरू अगाडि आइरहेको देखे । रात केही छिप्पिइसकेको पनि थियो ।
प्रहरीहरू आफूतिर आइरहेको देखेर गाडी हाँकिरहेको मातेका ती भलाद्मी सिटबाट ओर्लेर पछाडिको सिटमा आएर निदाए जस्तो गरेर पल्टिए। उनीहरू चेकजाँच गर्दै उनी नजिक आइपुगे र सोधे, “हलो सर तपाईं एक्लै ? कता हिँड्नु भएको ?”
भलाद्मीले नहिच्किचाई जवाफ दिए, “अहो सर ! म भक्तपुरमा आफ्नो मान्छेको बिहे पार्टीमा आएको र थोरबहुत यसो पिएको पनि थिएँ । अगाडि ड्राइभर पनि थियो । यहाँ मलाई एक्लै छाडेर कता गएछ त्यो गधा ? सर थाहा भएन । म त बिचल्लीमा पो परेँ ।”
भलाद्मीको कुरा सुनेपछि ती प्रहरीका प्रमुखले भने, “अनि ड्राइभर किन त्यसरी हिँडेको तपाईंलाई एक्लै छोडेर यस्तो रातमा ? त्यसले पनि पिएको थियो कि ?”
“मलाई लिएर हिँडेको बेलामा पिउँदैन थियो सर तर ऊ पनि ठिमीकै भएकाले ढिलो भयो भने म यतै बस्छु । भोलि समयमै हाजिर भइहाल्छु नि सर भन्थ्यो । यतै ओर्ले छ कि क्या हो ? म पो अप्ठ्यारोमा परेँ ।”
उनको भनाइ सुनेपछि हाकिमले, “अब कसो गर्ने त ? पिउन त निकै पिउनु भए जस्तै छ । आफैँ गाडी लिएर जान सक्नु हुन्छ त ?”
“सर नेवारको बच्चो यसो बिहे पार्टीमा अलि अलि पिइन्छ, तैपनि त्यति मातेको त छैनँ । विस्तारै लिएर जान सक्छु हजुर । मेरो घर पनि यहीँ कौसलटारनजिक पर्छ,” भलाद्मीले जवाफ दिए ।
हाकिमले भन्यो– “यसो मान्छे हेर्दा त भलाद्मी जस्तै देखिन्छ, ए केटा हो यहीँ नजिकको मान्छे रहेछ छोड्दे छोड्दे ।”
भलाद्मी फिस्स मुस्कुराए र भने, “हेर पुलिसहरूको बुद्धि ?” उनी गाडी लिएर घरतिर हुइकिए ।