• १३ वैशाख २०८२, शनिबार

६० औँ जयन्तीमा एक करोड चार लाखको अक्षय कोष

blog

पृथ्वी मा.वि.यासोकको हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई सम्मान अर्पण हुँदै। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, वैशाख १३ गते। पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा सञ्चालन भइरहेको पृथ्वी माध्यमिक विद्यालयले स्थापनाको ६० औँ वर्ष उत्सव (हीरक जयन्ती) मनाएको छ। 

अवसरमा यहाँका पूर्व विद्यार्थी र शैक्षिक सरोकारवालाले एक करोड चार लाख रुपियाँको सङ्कलन गरेका छन्। विद्यालयको दिगो सञ्चालन र व्यवस्थापनसँगै शैक्षिक उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोष स्थापना गर्ने रकम सङ्कलन गरिएको हो।

वि.सं. २०२२ सालमा स्थापना भएको यस विद्यालयका १६० जना भन्दा बढी पूर्वविद्यार्थीले ६९ वटा विधामा पुरस्कार वितरण गर्न यत्तिको कोष खडा गरेको प्रधानाध्यापक ऋषिराम गजुरेलले बताउनुभयो।

सो कोषले विद्यार्थी तथा विद्यालय हितका विभिन्न क्रियाकलाप गरिने विद्यालय प्रशासनले जनाएको छ। हीरक जयन्तीका अवसरमा विद्यालयबाट एसएलसी र एसईई उत्तीर्ण गरी विभिन्न विधामा ख्याती कमाएका एक सयभन्दा बढी पूर्व विद्यार्थीलाई सम्मान गरिएको छ। उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङले रुद्राक्षको मालासहित कदर–पत्र प्रदान गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले विद्यार्थीले अध्ययन सम्पन्न गरी ज्ञान आर्जन गरेको शिक्षालयको दिगो व्यवस्थापन र सञ्चालनमा देखाएको चासो अनुकरणीय रहेको टिप्पणी गर्नुभयो। अक्षय कोष स्थापना पश्चात अन्य स्थानबाट समेत विद्यार्थी आकर्षित हुने अपेक्षा गरिएको छ। सरोकारवालाले यो कोषले आर्थिक पक्ष कमजोर भएका विद्यार्थीलाई राहत मिल्ने विश्वास लिएका छन्।

यसअघि कुम्मायक गाउँपालिकाले विद्यालयको भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापनलगायत शैक्षिक सुधारका विविध योजना कार्यान्वयन गर्दै आएको छ। गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिकाले दस लाख रुपैयाँको पुरस्कार तथा अक्षय कोष खडा गरिदिएको थियो। विद्यालयमा आठ सय बढी विद्यार्थी अध्ययनरत छन्।