• १३ वैशाख २०८२, शनिबार

खोटो सङ्कलन गर्न दिने निर्णय विवादमा

blog

खोटो सङ्कलनबारे छलफल गर्दै स्थानीयवासी । तस्बिर : कुलबहादुर शाही

शिवालय समाचारदाता

शिवालय (जाजरकोट), वैशाख १३ गते । जाजरकोटको शिवालय गाउँपालिका–५ स्थित शिवालय रानीवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्साराम शर्माले एक निजी कम्पनीलाई खोटो सङ्कलन गर्न दिने निर्णय आफूखुसी गर्नुभएको आरोप लागेको छ । अध्यक्ष शर्माले गत चैत २५ गते समितिको बैठक तथा सहमतिबिना स्वस्तिक रोजिन एन्ड टर्पेन्टाइन प्रालिलाई खोटो सङ्कलन गर्न दिने निर्णय गर्नुभएको आरोप लागेको हो । 

गत चैत २५ को बैठकमा खोटो सङ्कलनबारे चर्चासमेत नभएको उपभोक्ता समूहका सदस्य कालीबहादुर शाहीले बताउनुभयो । कम्पनीका कामदार गाउँ आइपुगेपछि मात्र खोटो सङ्कलन गर्नेबारे निर्णय भएको जानकारी आफूले पाएको उहाँले बताउनुभयो । 

उहाँले सम्झौतापछि अध्यक्ष शर्माले पदाधिकारी र नागरिकहरूको किर्ते उपस्थिति तथा हस्ताक्षरसमेत प्रयोग गरी छेडा डिभिजन वन कार्यालयमा कागजात पेस गरिसकेको दाबी गर्नुभयो । स्थानीयवासीले खोटो सङ्कलन गर्न नदिने अडान लिँदै आएको हुँदा अध्यक्षले लुकीछिपी सम्झौता गरेको हुन सक्ने उहाँको दाबी छ । 

खोटो सङ्कलनबारे विवाद चुलिएपछि अध्यक्ष शर्माले किर्ते हस्ताक्षर गरेको स्वीकार गर्नुभएको छ । यद्यपि उहाँले अब जनताले भने अनुसार नै अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष शर्माले गलत कार्य गरेको जानकारी भएपछि उपभोक्ता समितिका पदाधिकारी र स्थानीयको बैठक बसेर खोटो सङ्कलन गर्न नदिने निर्णय गरिएको छ । 

बैठकले रानीवन सामुदायिक वन क्षेत्रमा खोटो सङ्कलन नगर्ने निर्णय गर्दै शनिबार बैठक बसेर समिति हेरफेर गर्ने निर्णयसमेत गरेको समितिका एक सदस्यले बताए ।