• २१ असार २०८१, शुक्रबार

‘खेलाडीको बन्द प्रशिक्षण क्याम्प बाह्रै महिना होस्’

blog

एसियाडका लागि बन्द प्रशिक्षण क्याम्प शुभारम्भ कार्यक्रममा सहभागि खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ २४ गते । नेपालकी चर्चित एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठले सरकारले खेलाडीको लागि अभ्यास र बन्द प्रशिक्षण क्याम्प बाह्रै महिना सञ्चालन गर्नु पर्ने बताउनुभएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) को तयारीका लागि मंगलबारदेखि सुरु गरेको बन्द प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा खेलाडीको तर्फबाट धारणा राख्नुभएकी श्रेष्ठले बन्द प्रशिक्षण सुरु हुँदा खुशी मान्नु पर्ने अवस्था आएको बताउनु भयो । 

‘विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीको बाह्रै महिना प्रशिक्षण हुन्छ । नेपालमा पनि त्यस्तै भैदियोस् भन्ने चाहन्छौं । नेपालमा हामी खेलाडीहरु पारिवारिक र सामाजिक बन्धनलाई तोड्दै खेलिरहेका छौं । राखेपले क्याम्प सुरु गरेकोमा खुशी छौं । आशा छ यसले निरन्तरता पाउनेछ,’ श्रेष्ठले भन्नुभयो । 

प्रशिक्षकका तर्फबाट बोल्दै भारोत्तोन खेलका मुख्य प्रशिक्षक राम पौडेलले प्रशिक्षण क्याम्पले खेलाडी र प्रशिक्षकलाई उत्साहित बनाएको बताउनुभयो । उहाँले क्याप्पलाई निरन्तरता दिन आवश्यक रहेको पनि बताउनुभयो । क्याम्पको राखेपका सदस्य सचिव टंकलाल घिसिङले सुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा एसियाडमा नेपालले सहभागीता जनाउन लागेको २३ वटै खेलका प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरिएको थियो । एसियाडको लागि खेलाडीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प मंगलबारबाट सुरु भई असार मसान्तसम्म चल्नेछ । असार ३० गतेबाट दोस्रो चरणको क्याम्पका लागि खेलाडी छनोट गरिने छ । 

राखेपले एसियाडमा समावेश २३ खेल मध्ये तेक्वान्दो, कराते र बक्सिङलाई पदकको सम्भावना रहेको खेलका रुपमा लिएको छ । यसैगरी एसियाडमा नेपालले एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागिता जनाउँदैछ । 

यसअघि भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हानझाउमा आयोजना हुने भनिएको एसियाड कोरोनाका कारण सन् २०२३ हुने गरी सरेको छ । एसियाडको नयाँ मिति भने तय भईसकेको छैन । यसअघि इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालले २९ खेलमा भाग लिएको थियो । तर नेपालले प्याराग्लाइडिङमा मात्र एउटा रजत पदक जितेको थियो ।