• ११ वैशाख २०८२, बिहिबार

स्वच्छ ऊर्जाको आधारशिला

blog

जलवायु परिवर्तनका अनेक असरले संसार आक्रान्त छ । अतिवृष्टि, अनावृष्टि, अनपेक्षित असिना पानीका साथै बाढी, पहिरो, खडेरी आदिले पृथ्वीका अनेक भूभागलाई तीव्रतर सताउन थालेको छ । विगत सय वर्षमा जीवाश्म इन्धनको अति प्रयोग तथा दुरुपयोगले पृथ्वीको तापमान बढ्न गयो । यसैबाट जलवायु परिवर्तन र यसका अनेक दुष्प्रभाव देखिन थाले । यसको सबैभन्दा ठुलो असर कृषि सभ्यतामा पर्न थालको छ । धर्तीले दिने अन्न नै जीवनको आधार हो तर जलवायु परिवर्तनका असरले कृषिलाई सबैभन्दा बढी प्रभाव पार्न थालेको छ । हिम क्षेत्रमा हिउँ पग्लन थालेको छ । एसियाका झन्डै दुई अर्ब मानिसको जीवनको जलाधार हिन्दकुश शृङ्खलामा हिउँको मात्र साबिकभन्दा २५ प्रतिशतले घटेको छ । पृथ्वीलाई जोगाउन अब जीवाश्म इन्धनको विस्थापन गर्दै स्वच्छ ऊर्जातर्फ रूपान्तरण अपरिहार्य छ । नेपालका नदीनाला स्वच्छ ऊर्जाका अपार सम्भावना हुन् । पाँच दशकअघि नै ८४ हजार मेगावाट जलविद्युत्को सम्भावना भएको अध्ययन आए पनि हालसम्म तीन हजार पाँच सय मेगावाट जलविद्युत् मात्र उत्पादन भएको छ । जलाशययुक्त दिगो आयोजना नभई नदी प्रवाहका आयोजनाको बाहुल्य हुँदा सुक्खा याममा क्षमताको एक तिहाइ मात्र उत्पादन हुने गरेको छ तर यताका वर्षमा आसलाग्दो पक्ष के छ भने निर्माणाधीन आयोजना बढ्दै गएकाले केही वर्षमै नेपालले जलविद्युत्मा फड्को मार्ने देखिएको छ । सुक्खायाममा केही आयात गरिए पनि बर्सातमा विद्युत् निर्यातले आशा जगाएको छ । विद्युत् व्यापार बढाउन प्रसारण लाइन निर्माणका निम्ति नेपाल र भारतबिच संयुक्त कम्पनी स्थापना हुने भएको छ । यसले स्वच्छ ऊर्जा विकासको संस्थागत आधार विस्तारले अब गति लिने देखिएको छ ।


आगामी १० वर्षमा नेपालले भारतमा १० हजार मेगावाट जलविद्युत् निर्यातको सुनिश्चितता पाइसकेको छ । यस परिवेशमा नेपाल र भारतबिच प्रसारण लाइन थपिने भएको छ । प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका निम्ति मङ्गलबार दुवै देशबिच हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कम्पनी लिमिटेडबिच भएको यो सम्झौता दूरगामी महत्वको छ । भारत नेपाली स्वच्छ ऊर्जाको बजार हो । भारत अहिले पनि जैविक ऊर्जामै बढी निर्भर  छ । भारतले नेपाली विद्युत् आयात गर्ने बाटो खुला गरेको मात्र छैन, नेपालमा जलविद्युत् क्षेत्रमा लगानी विस्तारसमेत गरेको छ । यसै परिवेशमा ऊर्जामन्त्री खड्काको निमन्त्रणामा दुईदिने भ्रमणमा खट्टरसहितको प्रतिनिधिमण्डलले गरेको नेपाल भ्रमणमा स्वच्छ ऊर्जा विकासका दृष्टिले अति महत्वपूर्ण देखियो । यो भ्रमणका निम्ति विगतको गृहकार्यको ठुलो योगदान छ । गत माघ ३० गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठक उपयोगी भयो । सो बैठकले ४०० केभीको इनरुवा– न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार दुई वटा प्रसारण लाइन निर्माण गरिने छ । नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहने व्यवस्थाले साझेदारी लगानीमा स्वच्छ ऊर्जालाई उत्पादन केन्द्रदेखि बजार लैजाने संरचनागत आधार तयार हुने भएको छ । 


भौगोलिक हिसाबले इनरुवा–न्यु पूर्णियाको लम्बाइ नेपालतर्फ करिब २५ किलोमिटर छ भने भारततर्फ १०० किलोमिटर छ । त्यसै गरी दोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ । यी दुई प्रसारण लाइन केवल विद्युतीय संरचना मात्र नभई नेपाल र भारतको आपसी विश्वास र दिगो विकासतर्फको साझा यात्राको आधारसमेत हो । भारतले अरुण–३, तल्लो अरुण, अरुण–४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६ र पश्चिम सेती जस्ता ठुला जलविद्युत् परियोजनामा लगानी विस्तार गरिरहेको छ । नेपाल र भारतले संयुक्त जलविद्युत् उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा मिलेर काम गर्ने विगत प्रतिबद्धता कार्यान्वयनमा आउँदै छ । त्यसैको विस्तारित आयामका रूपमा प्रसारण लाइनको संयुक्त कम्पनी निर्माण नवीन आधारशिला हो । यसबाट नेपालको स्वच्छ ऊर्जा उत्पादन र निर्यात प्रवर्धनमा ठुलो सहयोग पुग्ने देखिएको छ ।