रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), वैशाख ११ गते । पछिल्लो समय कृषि क्षेत्रमा व्यावसायिक लगानी गर्ने कम हुँदै गएका छन् । यस क्षेत्रमा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढिरहेका बेला धुर्कोट गाउँपालिका–५ को वस्तु गानटारीमा नौ जना युवाले सामूहिक कृषि सपना अगाडि बढाएका छन् ।
रेसुङ्गा नगरपालिका–९ का युवा गिरिप्रसाद पाण्डेय, खगराज पाण्डेय, सुनील पाण्डेय, शङ्कर बस्नेत, राजेन्द्र पन्थी, भरत पन्थी, लक्ष्मण पन्थी, पूर्ण श्रेष्ठ र सुजित पाण्डेयले सामूहिक रूपमा कुखुरापालन, माछापालन र तरकारी खेती सुरु गर्नुभएको छ । वार्षिक एक लाख रुपियाँमा स्थानीय व्यक्तिको २९ रोपनीभन्दा बढी जग्गा भाडामा लिएर कुखुरा, माछापालन तथा तरकारी खेती अगाडि बढाएको सञ्चालक गिरिप्रसाद पाण्डेयले बताउनुभयो । करिब ५५ लाख रुपियाँको लागतमा कुखुरा फार्म, माछापोखरी, सडक, सिँचाइ तथा तरकारीका संरचनालगायत निर्माण गरिएको छ ।
उहाँका अनुसार चार हजार कुखुरा बेचेर अहिले फार्ममा तीन हजार ब्रोइलर कुखुरा छन् अरू दुई हजार थप्ने योजना छ । आठ हजार क्षमताको कुखुरा फार्म निर्माण भए पनि लट अनुसार कुखुरा व्यावस्थापन गर्नुपर्ने सञ्चालक पाण्डेयले बताउनुभयो ।
युवाले १० वर्षदेखि जिल्लामा अन्डाको व्यावसायिक कारोबार गर्दै आएका छन् । आफूहरूले चार/पाँच वर्ष जिल्लामै लेयर्स कुखुरामार्फत ठुलो परिमाणमा अन्डा उत्पादन गरे पनि पछि राम्रो नभएपछि बन्द भएको पाण्डेयले बताउनुभयो । यो समूहले अहिले पनि व्यावसायिक रूपमा वर्षको आठ/१० लाखको अन्डाको कारोबार गरिरहेको छ ।
सबै नौ जना सञ्चालक नै कुनै न कुनै रूपमा काममा संलग्न हुनुहुन्छ । बाहिरका तीन जनाले अहिले नियमित रूपमा काम गरिरहेका छन् । आफूहरूले अहिलेसम्म कुनै पनि सरकारको अनुदान नलिएर सामूहिक लगानीमा काम गर्दै आएको सञ्चालक सुनिल पाण्डेयले बताउनुभयो ।
कोभिडका बेला दाना नपाएर ५० लाखभन्दा बढी डुब्दा कसैको संरक्षण नपाएकाले अनुदान वा सरकारी हारगुहार नगरेको पाण्डेयले बताउनुभयो । “सामूहिक लगानी र काम गरेका छौँ । अनुदानको आसमा सरकार धाउने फुर्सद छैन । भविष्यमा सहयोग र सहकार्यको आवश्यक परे नकार्दैनौँ,” उहाँले भन्नुभयो ।
उहाँले शिवशक्ति कृषि तथा पशुपन्छी फार्ममार्फत दीर्घकालीन ठुलो कृषि योजना बनाएकाले पानी, यातायात र जग्गाको हिसाबले गानटारीमा काम गर्न थालेको बताउनुभयो । पाण्डेयले १० हजार भुरा माछा हाल्ने र तत्काल बङ्गुर १० वटा राखेर बिस्तारै ५० पुर्याउने, कुखुराको अन्डा र मासुमा आत्मनिर्भर हुने गरेर काम गर्ने बताउनुभयो ।