• ८ वैशाख २०८२, सोमबार

टुसालमाथि श्री कुमारीको कठिन जित

blog

बल खोस्ने प्रयास गर्दै श्री कुमारी र टुसालका खेलाडी ।

काठमाडौँ, वैशाख ८ गते । श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युवा क्लबमाथि कठिन जित निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा श्री कुमारीले टुसाललाई २–१ गोलले हरायो । श्री कुमारीलाई जिताउन निशान्त प्रधानले ११औँ र विनोद धमलाले ७६औँ मिनेटमा गोल गर्नुभयो ।

टुसालका सुजन माझीले ८६औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । तेस्रो जितसँगै श्री कुमारीले सात खेलबाट नौ अङ्क बनाएको छ । पराजित टुसालको समान खेलबाट ६ अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । 

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।