काठमाडौँ, वैशाख ८ गते । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालसम्म सरकारी कर्मचारी निवृत्तिभरण भइसकेपछि प्राप्त हुने पेन्सन तथा सरकारी नियुक्तिवापतको सुविधा गरी दोहोरो सुविधा लिने गरेको बताउनुभयो । उहाँले कानुनमा केही पनि उल्लेख नभएका कारणले दोहोरो तथा तेहोरो सुविधा लिने गरेको जानकारी दिनुभयो ।
यस्तो सुविधा कानुनी रूपमै लिन नपाउने व्यवस्था गरिएको बताउनुभयो । दोहोरो सुविधाका बारेमा अपव्याख्या गरेर प्रचारबाजी भए पनि कानुनमै लेखिएकाले अब समस्या नरहेको उहाँको भनाइ छ । उहाँले फौजदारी अभियोगमा सजाय पाएका कर्मचारीको हकमा पेन्सन सुविधाबाट वञ्चित गर्न नहुने बताउनुभयो । उहाँले सानोतिनो भ्रष्टाचारजन्य अभियोगमामा सजाय पाएका कर्मचारीको पेन्सन रोक्दा परिवारले पाउने सुविधाबाट वञ्चित भई दोहोरो सजाय हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद बडूले नायव सुब्बाबाट स्वतः छैटौँ तहमा बढुवा हुने तथा १२ वर्ष सेवा गरिसकेपछि सातौँ तहमा बढुवा हुने व्यवस्था गरिएकाले कर्मचारीको वृत्ति विकास र बढुवामा कुनै समस्या नरहेको बताउनुभयो ।