• ८ वैशाख २०८२, सोमबार

डुडुवाद्वारा धानको बिउ उत्पादन तथा भण्डारण सुरु

blog

धानको बिउ भण्डारण गरिँदै । तस्बिर सौजन्य : डुडुवा गाउँपालिका

गजेन्द्र गुरुङ
खजुरा, वैशाख ८ गते ।
किसानलाई बिउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि आफैँले बिउ उत्पादन सुरु गरेको छ । धानको मूल बिउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बिउ तयार गरी भण्डारण गरेको हो ।

उन्नत जातको बिउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई बिउ पुग्ने गरी तयार गरिएको हो । डुडुवाले आफ्नै किसानसँग पाँच लाख ६८ हजार बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बिउ प्रशोधन गरेको उहाँले बताउनुभयो ।

धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बिउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो । उहाँका अनुसार किसानलाई बिउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरिने छ ।

डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बिउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । पहिलो पटक धानको बिउ उत्पादन गरेको पालिकाले यस वर्षदेखि गहुँको बिउ पनि प्रशोधन गर्ने तयारी गरेको छ ।

दुई सय ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले गहुँ भित्र्याउने समय रहेकाले अब केही दिनभित्रै गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने छ ।

किसानलाई पालिकाले आफैँले बिउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ । डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पालिकाले किसानको सहजताका लागि बिउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो । 

अध्यक्ष चौधरीले भन्नुभयो, “बिउ उत्पादन तथा भण्डारणपछि यहाँका कोही पनि किसानलाई बिउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले सहुलियत दरमा बिउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्ने छ ।” उहाँले बिउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बिउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार बिउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।